
१५ बैशाख २०७६, काठमाडौं
श्रम शोषणविरुद्ध विगत एक महिनादेखि आन्दोलनमा उत्रिएका पूर्वका चिया मजदुरले झापामा पुतला दहन गरेका छन् ।
आन्दोलनमा उत्रिएका चिया मजदुरले पूर्व–परिश्चम राजमार्गअन्तर्गत झापाको बिर्तामोडस्थित मुक्ति चोकमा आइतबार उद्योगीहरुको पुतला दहन गरेका हुन् ।
नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुतला दहन गरेका थिए ।
सरकारले राजपत्रै प्रकाशित गरी चिया मजदुरको न्युनतम ज्याला तोके पनि चिया उद्योगीले सो अनुसारको ज्याला नदिएपछि पूर्वका चिया मजदुर चैत्र २७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।
ज्याला मात्र नभई श्रम ऐन २०७४, श्रम नियमावली २०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउन समेत मजदुहरुरले माग अघि सारेका छन् ।





