प्रदेश सरकारको योजनामा पुल निर्माणको काम प्रारम्भ



१५ बैशाख २०७६, इटहरी

१ नम्बर प्रदेश सरकारले पुल निर्माणको काम प्रारम्भ गरेको छ । स्वीस सरकारको प्राविधिक सहयोगमा चालू आर्थिक वर्षमा अरुण, तमोर, सुनकोशी लगायतका ठूला तथा साना ६२ वटा पुल निर्माण गर्ने सरकारले यसअघि नै घोषणा गरेको थियो ।

एक कार्यक्रमकाबीच प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पहिलोपटक पुल निर्माणको सुरुआत गर्नुभएको हो ।  प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मोरङको उर्लाबारी र मिक्लाजुङको सीमानामा पर्ने मिक्लु खोलामा पुल निर्माणको लागि शिलान्यास गर्नुभएको हो । ७ करोड २५ लाख ४९ हजार ७ सय ६० रुपैयाँ लागतमा उक्त पुल महाविर किरातेश्वर जेभिले ठेक्का पाएको छ । २४ महिनाभित्र सक्ने लक्ष्यका साथ सुरु भएको मिक्लु खोलाको पुल स्थानीयको सहयोग पाए २० महिनाभित्रै हस्तान्तरण गर्ने निर्माण कम्पनीको दाबी छ । मन्त्रीसहित, सो क्षेत्रका प्रदेश सांसद कुलप्रसाद साम्बा कुशल, उपेन्द्र घिमिरे, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोसहितले पुलको शिलन्यास गर्नुभएको हो ।

पुल शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले प्रदेशका सम्पूर्ण आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सरकारले उपर्युक्त वातावरण तयार गर्ने बताउनुभएको छ । उहाँले सरकारको तर्फबाट भुक्तानी ढिलो हुने, स्थानीय अवरोध हुने र ठेकेदारको लापरबाहीका कारण निर्माण समयमै नसकिने गरेको उदाहरण पेश गर्दै प्रदेशमा भने त्यस्तो हुन नदिने पनि बताउनुभयो ।

८६ दशमलव ६० मिटर लामो उक्त बस्क वृज निर्माण भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय मोरङले ठेक्का लगाएको हो । लामो समयदेखि स्थानीयले उक्त खोलामा पुल निर्माण हुनुपर्ने माग गर्दै आएका थिए ।

उक्त पुलले पाँचथर, ताप्लेजुङ र तेह्रथुमलाई छोटो दूरीको यातायातमा जोड्ने सर्वसाधरणले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्