प्रदेशको नाम र राजधानी बैशाख भित्रै !



१३ बैशाख २०७६, इटहरी

संसदमा प्रतिनिधित्व गर्ने १ नम्बर प्रदेशका ५ राजनीतिक दलले प्रदेशको स्थायी राजधानी र नामाकरण यही वैशाख २२ गतेभित्र सक्ने सहमति गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको पहलमा विराटनगर स्थित प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले  जानकारी दिए ।

सरकारले संसदमा पेश गरेको वृहत विराट क्षेत्र विकास सम्बन्धी विधयेक सर्वसम्मतीका साथ आउँदो १५ गते पारित गर्ने र वैशाख २१ र २२ गतेभित्र राजधानी र नामको विषय टुंग्याउने सहमति भएको भण्डारीको भनाई छ । भण्डारीका अनुसार सभामुखले प्रस्ताव आव्हान गरेपछि सर्वदलीय हिसावले नै राजधानीको विषय संसदमा लाने विषयमा पनि विपक्षी दलसँग सहमति भएको छ ।

बैठकपछि सामान्य प्रतिक्रिया दिँदै नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइरालाले पनि यही अधिवेशनमा प्रदेशको राजधानी र नामको विषय टुंगो लगाउने विषयमा समान्य छलफल भएको बताए । सभामुखले १५ गते प्रदेशको राजधानी र नामाकरणको लागि प्रस्ताव आव्हान गर्ने कुरा जानकारीमा आएको भन्दै कोइरालाले उक्त विषयको टुंगो लाग्न सक्ने बताए ।

सर्वदलीय बैठकमा सरकारले सदनमा प्रस्तुत गरेको वृहत विराट क्षेत्र विकास सम्बन्धी विधयेक विकास र समृद्धिका लागि ल्याएको भन्दैे विपक्षीलाई मुख्यमन्त्री राईले आश्वास्त पार्ने कोशिष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्