यस्ता भए भूकम्पमा २२ घण्टा पुरिएका (लक्की ब्वाई) सोनिस…



१२ बैशाख २०७६, काठमाडौं

बुधबार बिहान साढे ६ बजे राजधानीमा गएको भूकम्पको झट्काले रमिला अवालको मनलाई त्रिसित बनायो । बेलाबेला दिने भूकम्पका धक्काले रमिलालाई २०७२ साल बैशाख १२ गतेको नमिठो घटनाले चस्कारहन्छ । भूकम्पको धक्का आउँदा उनी ५ वर्षका छोरा सोनिस अवाललाई अँगालोमा बाँधेर हतारहतार भाग्न खोज्छिन् ।

२०७२ साल वैशाख १२ मा भूकम्प जाँदा सोनिस भर्खरै ४ महिनाका थिए । उनी छोरा सोनिसलाई सुताएर पसलमा सामान किन्न गएका बेला भूकम्प गएको थियो । टिभी हेरेर बसेकी ११ वर्षकी छोरी सोनियालाई भाइ हेर भनेर उनी निस्किएकी थिइन् । भूकम्पले जेठाजुको १८ वर्षीया छोरीको मृत्यु भएपछि उनी निकै अत्ताालिइन्, हारगुहार मागिन् । चार महिने काखे छोराको अवस्था पत्ता नलाग्दा अवाल विचलित भइन् ।

पसल पुग्न नपाउँदै वरपरका सबै भवन र जमिन एक्कासी हल्लिए । वरपरका पक्की घर भत्किएको बेला आफ्नो कच्ची घर झन् के भयो होला ? घरमा रहेका छोराछोरीको अवस्थाले चिन्तत बनायो उनलाई । पसलबाट फर्कंदा घर भग्नावशेषमा परिणत भइसकेको थियो । छोराछोरीको अत्तोपत्तो थिएन । त्यो देख्दा उनी शिथिल भइन् । छोरी सोनियाको उद्धार भइसकेको रहेछ । तर छोराको पत्तो थिएन ।

यसरी बचे सोनिस
कोठामा एक्कासि टिभी हल्लियो । दराज र टिभी हल्लेको देखेर सोनियालाई अचम्म लागेको थियो । के भएछ भनेर भ्यालबाहिर हेर्दा भूकम्प आएको भन्दै सबै दौडिरहेको थिए । त्यसपछि उनी पनि हतारिएर र्भयाङ झर्ने लागेकी थिइन् । कोठामा सुतिरहेको भाइको मायाले उनलाई एक्लै भाग्न दिएन ।

कोठामा आइन् । बेतोडले हल्लाइरहेको समयमा उनले भाइलाई च्याप्प समाइन् । र्भयाङ झर्न मात्र लागेकी थिइन्, कम्पनले उनी नराम्ररी पछारिइन् भने सोनिस उनको हातबाट फुत्किएर कता पुग्यो उनलाई थाहा भएन ।

सोनियाको पनि खुट्टामाथि र टाउको तल भएको अवस्थामा उद्धार भएको थियो । भूकम्प गएको २२ घण्टासम्म पनि सोनिसको खोजी जारी थियो । उद्धारमा खटिएका नेपाली सेनाले कहीं बाट आवाज सुने । बच्चा रोएको । त्यसपछि खोजी गर्दा धुलोले पुरिएको अवस्थामा सोनिस भेटिएका थिए ।

चार वर्ष पुरा भई ५ वर्षमा टेकेका सोनिस अहिले भक्तपुरकै एभरेस्ट स्कुलमा युकेजीमा पढ्छन् । शिक्षकले उनलाई सोनिस तिमी भूकम्पमा यसरी फसेको र यस प्रकार उद्धार भएको सुनाउँदा उनी घर आएर आमा रमिलालाई सुनाउँछन् रे ।

सोनिसका पिता श्याम अवाल पेसाले सवारी चालक हुन् भने रमिला सिलाइ बुनाइको काम गर्छिन् । भूकम्पताका मूलढोकास्थित आफ्नै घरमा बस्दै आएका अवाल परिवार अहिले कोठमा बस्दै आएको छ ।

राम्रो आर्थिक अवस्था नभएको अवाल परिवारलाई भूकम्पले अर्को चोट थपेको छ । अवाल दम्पती खुसी नै छन् आफ्ना सन्तान सकुशल उद्धार भएकोमा । उनीहरु नेपाली सेनालाई धन्यवाद दिइरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्