
१२ बैशाख २०७६, इटहरी
१ नं. प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा गठित भाषा, साहित्य कला तथा संस्कृति सम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ ।
कार्यदललले हिजो मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिवेदन पेस गर्दै प्राज्ञिक संस्था गठन गर्न सुझाव दिएको छ । कार्यदलले प्रदेशको एकिकृत प्राज्ञिक संस्थाको लागि तीनवटा नाम सिफारिस गरेको छ ।
प्रा.डा. टङ्कप्रसाद न्यौपानेको संयोजकमा बनेको १३ सदस्य कार्यदलले प्रदेशको एकीकृत प्राज्ञिक संस्थाको नाम राख्न तीनवटा नाम सिफारिस गरेका हुन् । प्राज्ञिक संस्थाको नाम प्रादेशिक ज्ञानपीठ, भाषा, साहित्य कला, तथा संस्कृतिक प्रष्ठिान र प्रादेशिक प्रज्ञा प्रष्ठिानमा एक राख्न सुझाव दिएका छन् । प्रदेश १ मा बोलिने विभिन्न भाषाहरु लोप हुने अवस्थामा पुगेको भन्दै प्रदेशमा भाषिक सर्वेक्षण गर्न तत्काल सुरु गर्न पनि कार्यदलले सुझाव दिएको छ ।
१ सय पृष्ठ लामो र ६ अनुसूची रहेको प्रतिवेदन मार्फत सामाजिक विकास मन्त्रालयलाई ४६ सुत्रीय सिफारिस गरिएको छ । प्रतिवेदन ग्रहण गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ को भाषा साहित्य नीति, ऐन, कानुन, संरचना कस्तो हुने जस्ता विषयको निरुपणका लागि कार्यदल गठन गरि अध्ययन गरिएको बताए ।
प्रतिवेदन प्रदेश–१ को मात्रै नभै समग्र देशकै कला, साहित्य र संस्कृतिका लागि मार्गदर्शक हुने मन्त्री घिमिरेले बताए ।





