कलालय इटहरीको सातौँ संस्करण सुरु



१२ बैशाख २०७६, इटहरी

कलालय इटहरीले विगत आठ वर्षदेखि सञ्चालन गर्दै आएको स्कूल थिएटरको सातौं सस्करण २ दिने महोत्सव वुधवारवाट सुरु भएको छ । रंगमञ्चतर्फ नयाँ पुस्तालाई आकर्षित गर्ने मुख्य उद्देश्यले सुनसरीको इटहरीमा  स्कुले विद्यार्थीहरुले नाटक मञ्चन गर्दै आएका छन् ।

विद्यार्थीहरुलाई नाट्यकलाका क्षेत्रमा प्रशिक्षण दिएर विद्यार्थीहरुकै निर्देशन र अभिनय रहने स्कूल थिएटरको सातौं संस्करणमा पनि स्कुले विद्यार्थीहरुका नाटक मञ्चन गरिएको हो । नयाँ पुस्तालाई नाटकतर्फ आर्कषण गर्ने मुख्य लक्ष्य लिएर सञ्चालन गरिदैं आएको स्कुल थिएटरका लागि विगतमा कलालयले इटहरीमै स्कुले विद्यार्थीहरुलाई जम्मा पारेर अभिनय तथा निर्देशन कलाको प्रशिक्षण दिने गरिएकोमा यस पटक विद्यालयमै गएर गरिएको कलालयका अध्यक्ष सोनु जयन्तीले वताए ।

स्कुल थिएटर सञ्चालनमा आएपछि नाट्य क्षेत्रमा नयाँ पुस्ताको प्रवेश हुन थालेको पुष्टी गर्दै स्कूल थिएटरको पहिलो संस्करणमा समावेश विद्यार्थीहरुकै प्रशिक्षणमा सातौं सञ्चालन भईरहेको समेत जयन्तीले जानकारी दिए ।

स्कूल थिएटरको सातौं संस्करणमा आरम्भ विद्या मन्दिर झुम्का, ब्राईट फ्युचर सेकेण्डरी स्कूल आँपगाछी, एसोएस बालग्राम इटहरी र अन्य विद्यालयका विद्यार्थीहरुले वृद्धहरुको भेला, मुसाहरुको भेला, बुढो मान्छेको सपना र प्रकृति शिर्षकका नाटकहरु मञ्चन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्