५ रोपनी सार्वजनिक जग्गामा पेट्रोल पम्प : वडाध्यक्ष र नगरप्रमुख बेखबर



०८ बैशाख २०७६, काठमाडौं

काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ धोबीखोला करिडोर (साविक चपली गाविस वडा नं. ९ भई हाल कायम महाँकाल गाबिस वडा नं. ९ कित्ता नं. १५५ साबिक खोला) अन्तर्गत पर्ने करिब ५ रोपनी सार्वजनिक जग्गामा व्यक्ति विशेषले मिची–हडपी एच.आर. हाउजिङ्ग एण्ड आयल स्टोर प्रा.लि. निर्माण गरी संचालन गरिरहेको बुझिएको छ ।

मिति २०७३/०९/१७ गते सार्वजनिक जग्गा संरक्षण अभियान समितिले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जग्गा मिचेको भनी दिएको उजुरीमा संलग्न कागजातहरु :

१. नापी कार्यालय चाबहिलको साविक चपली–९ हाल महाँकाल–९, नक्सा नं. १०२ ०९८७ २३ को नक्सा प्रिन्टको छायाँप्रति । (संलग्न प्रिन्टमा एच.आर. हाउजिङ्ग एण्ड कंक्रीट ब्लक उद्योग समेत जनिएको)

२. धोबीखोला करिडोर आयोजनाको च.नं.३३८ मिति २०७३/०३/१५ को पत्रानुसार फिल्डबुक उतार गरी पठाएको भन्ने शिर ब्यहोरामा उल्लेखित नापी, कार्यालय चाबहिलको नक्सा नं. १०२ ०९८७ २३ को फिल्डबुकमा कि.नं. १५५ साविक खोला भनी उल्लेखित छायाँप्रति समेत बुझाईएको ।

हामीलाई प्राप्त अख्तियार दुरुपायोग अनुसन्धान आयोगको मिति २०७३/१०/०९ को निर्णयानुसार मिति २०७३/१०/१० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी दर्ता नं. ४३११ को उजुरी विषयमा आयोगबाट “प्रस्तुत उजुरीका सम्बन्धमा आवश्यक कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई च.नं. ८६१ र बूढानीलकण्ठ नगरपालिकालाई च.नं.८६० को छुट्टाछुट्टै पत्राचार गरी बूढानीलकण्ठ नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई छानबिन गरी आवश्यक कारवाही गर्न निर्देशन दिएको बुझिएको छ ।

तत्कालिन समयमा जननिर्वाचित प्रतिनिधिको अभावमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगको निर्देशन पालना नगरेको देखिएपनि जननिर्वाचित प्रतिनिधिले जिम्मेवारी पाएको दुई वर्ष वितिसक्न लाग्दा समेत बेखबर रहनु र धोबीखोला करिडोले पर्याप्त प्रमाण हुँदाहुँदै आयोगको निर्देशन पालना नगरी धोबीखोला छुट्याउनुले आर्थिक लेनदेनको विषय भएको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्