डा. राजन भट्टराईद्वारा बूनपामा एकै दिन ३ पार्कको शिलान्यास (भिडियो सहित)



०७ बैशाख २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले बूढानीलकण्ठ नगरपालिकाको वडा नं. २, १० र १३ मा एकैदिन तीन वटा पार्क सार्वजनिक पार्क निर्माणको शिलान्यास गरेका छन् ।

डा. राजन भट्टराईको पार्क शिलान्यास तथा स्थलगत अवलोकनको भिडियो :

डा. राजन भट्टराईको विशेष पहलमा शहरी विकास मन्त्रालय मार्फत निर्माण हुन लागेका बूनपा २ को कालिका चौर पार्क, बूनपा १० को भूकम्प स्मृति पार्क र १३ को भद्रकाली मन्दिर पार्कको स्थलगत अवलोकन सहित नक्सा सार्वजनिक गर्दै शिलान्यास गरेका थिए ।

डा. भट्टराईद्वारा शिलान्यास तथा अवलोकन गरेका पार्क लगायत अन्य जम्मा ६ वटा पार्क १८ महिनाभित्र सम्पन्न हुनेछन् । भ्याट सहित सात करोड छयासी लाख चौरहत्तर हजार दुई सय छब्बीस बजेटमा सम्पन्न हुने ६ पार्क निर्माणको ठेक्का श्री समानान्तर उमा रतेज कन्ट्रक्सन जेभी नामक ठेकेदार कम्पनीले पाएको छ ।

अवलोकन भ्रमणमा प्रमुख अतिथि डा. भट्टराई सहित प्रदेश सभा सदस्य कुसुम कुमार कार्की, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेल , नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी, सल्लाहकार रबिन अधिकारी, बूनपा २ का वडाध्यक्ष राजेन्द्र खड्का, वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ लगायत सम्बन्धित वडाका वडा सदस्यहरु, स्थानीय समाजसेवी, ठेकेदार कम्पनीका ठेकेदार, उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि डा. भट्टराईले अवलोकन भ्रमणमा निर्माण हुने संरचना, भूगोल, स्थानीयको चासो लगायत अन्य विकास निर्माण बारे स्थानीयसँग प्रत्यक्ष छलफल गरेका थिए । छलफलको क्रममा डा. भट्टराईले बूढानीलकण्ठ नगप्रमुख खरेललाई भने, “बुझ्नुभो, मेयर साब ! पहिला चाहीँ सार्वजनिक जग्गा छुट्याउनुस् । तपाईको नगरपालिका अन्तर्गत कति सार्वजनिक जग्गा छन् ? ति सार्वजनिक जग्गामा के–के गरिदिन सक्ने सम्भावनाका जग्गा छन् ? त्यसपछि योजना त कत्ति ल्याउन सकिन्छ, सकिन्छ ।”

छलफलमा वडाध्यक्षहरुले पार्क निर्माणको लागि डा. भट्टराईले बजेट विनियोजनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वडावासीका तर्फबाट धन्यवाद सहित अन्य विकास योजनाका लागि समेत पहल गर्न अनुरोध गरेका थिए ।

     

प्रतिक्रिया दिनुहोस्