
०४ बैशाख २०७६, काठमाडौँ
थाईल्यान्डमा समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि तेल खानीका कामदारहरूले उक्त कुकुरको उद्धार गरेका छन् ।
गत शुक्रबार कुकुरलाई समुद्रमा देखेपछि ती कामदारहरूले उसलाई बोलाए । मानिसको आवाज सुनेर ऊ पौडिँदै उनीहरू भएको रिगतिर गएको थियो ।
सो कुकुर कसरी त्यति पर समुद्रमा पुग्यो भन्ने स्पष्ट छैन । केही समाचार सामग्रीका अनुसार ऊ माछा मार्ने डुङ्गाबाट पानीमा खसेको हुन सक्छ ।
ती कामदारहरूले सो कुकुरको नाम बून्रड राखिदिएका छन् । थाई भाषामा सो शब्दको अर्थ ’जोगाइएको’ वा ’उद्धार गरिएको’ हुन्छ ।
उद्धार गरिँदा बुन्रड निकै थकित रहेको बताइन्छ । उसलाई स्वच्छ पानी र खानेकुरा दिइएको थियो । उसको उमेर तीनदेखि पाँच वर्ष भएको अनुमान गरिएको छ ।
उसलाई रिगमा राखेर कामदारहरूले समुद्री तटतिर फर्किँदै गरेको एउटा ट्याङ्करलाई सहयोगका लागि रेडियो सन्देश पठाएका थिए ।
कामदारहरूले उसको शरीरबाट समुद्रको पानीमा भिज्दा जम्मा भएको नुन पखाल्न उसलाई नुहाइदिएका थिए। त्यसपछि ऊ सुतेको थियो ।
शुक्रवार दिउँसो समुद्र शान्त र मौसम सफा भएकाले सो कुकुरलाई देख्न र उद्धार गर्न सकिएको कामदारहरूले बताए ।
आइतवार क्रेनको सहायताले बून्रडलाई रिगबाट तेल ओसार्ने जहाजमा सारिएको थियो । त्यसपछि उसलाई दक्षिण थाईल्यान्डस्थित एक पशुचिकित्सक भएको ठाउँमा लगियो ।
जहाजबाट ओरालेर चिकित्सककहाँ र्पुयाइँदा ऊ खुसी देखिएको बताइएको छ । बीबीसी





