गजुरेलको प्रहारमा धर्मगुरु, डा. भट्टराई र ल्यापटपै पिच्छेका अनलाईन पत्रिका (भिडियो सहित)



०१ बैशाख २०७६, काठमाडौं

नेपाली हास्यव्यंग्य क्षेत्रका बादशाह मनोज गजुरेलले नयाँ वर्ष आगमनको पूर्व सन्ध्यामा परिवर्तन खबरद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रममा धर्मको नाममा व्यापार गर्ने धर्म गुरुहरु, जनचाहना अनुसार काम गर्न नसकेको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार र पाठक भ्रममा पार्न क्रियाशिल अनलाईन पत्रिकाहरु गजुरियल वाणीले घायल भए ।

गजुरियल सम्बोधनबाट बोल्न शुरु गरेका मनोजले आफ्नो मुख्य तारो डा. राजन भट्टराई हिडिसकेको भन्दै नेकपा प्रदेश नं. ३ का नेता निर्मल कुईकेललाई सांसद भनेर दर्शक र श्रोतालाई छक्क पारेका थिए । आफ्नो सम्बोधनले छक्क परेका दर्शकलाई आफ्नो कालो जिब्रो भएको भन्दै आगामी निर्वाचनमा कुईकेल सांसद हुन सक्ने ठोकुवा गर्दै सम्बोधनलाई टुंग्याउन भ्याएका थिए ।

प्रम केपी ओलीलाई प्रहार गरेको गजुरेलको धमाकेदार भिडियो :

उनको प्रहारमा निर्मल कुईकेल सुरक्षित थिए भने डा. भट्टराईलाई सुनाईदिनु भन्दै सरकारलाई व्यंग्य हान्न थाले, “न प्रदेशको राजधानीको नाम तोक्न सक्यो, न सडकका खाल्टा छोप्न सक्यो, न बेरोजगारीको लर्को रोक्न सक्यो, न निर्मलाका बलात्कारीलाई ठोक्न सक्यो !’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समेत काम भन्दा भाषणमा जोड दिएको भन्दै भने, “भाषणले भर्ने भए गरिबको पेट, भाषण खान्थे, भाषण नै लाउथें, भाषणकै खेत, असारमा नारा जोत्थे, मंसिरमा बाली, आश्वासनको खाजा खान्थे, खाना खान्थे ताली !”

ब्यङ्गय प्रस्तुतीकै क्रममा गजुरेलले डा. राजन भट्टराई र आफ्नो अनुहार उस्तै उस्तै भएपनि यसमा पिताजीको कुनै दोष नभएको बताउँदा दर्शकहरु खित्का छाडेर हाँसेका थिए ।

कार्यक्रममा उपस्थित बौद्ध धर्म गुरु थुप्तेन जिग्डोल लामालाई ईंगित गर्दै धर्मगुरुहरुको बेइमानीलाई पनि उनले छताछुल्ल पारेका थिए । गुरुहरुका नाममा धेरै गोरुहरु रहेको भन्दै संस्कृतको गुरुमन्त्रलाई गजुरियल शैलीमा “गुरु भ्रममा, गुरु बिक्नु, गुरु धेर भो महेश्वर, गुरु साक्षात परम ब्रम्ह तस्मे श्री गोरु ब्याय नमः”  भन्दै हरेक धर्म गुरुलाई अर्थाेपार्जनमा लागेको भन्दै व्यङ्गवाण प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्