१ सय २० घरधुरी अर्गानिक तरकारी खेतीमा



०१ बैशाख २०७५, बराहक्षेत्र

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कटहरे र चियावारीमा अर्गानिक तरकारी खेती कार्यक्रम सञ्चालन गरिएको छ । मानव विकास संरक्षण मञ्च (हुडेप) नेपालको आयोजना र एस जी पी, जी इ एफ तथा युन एन डी पीको सहयोगमा अर्गानिक तरकारी खेती कार्यक्रम सञ्चालन गरिएको हो ।

अर्गानिक तरकारी उत्पादन गरी दैनिक आय आर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ हुडेप नेपालले उक्त कार्यक्रम आयोजना गरेको हुडेपका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिएका छन् । विगत करिब एक वर्ष देखि सञ्चालित उक्त कार्यक्रममा बराह क्षेत्रका ११ ओटै वडामा बाल क्लब गठन गरी अर्गानिक खेती र बालअधिकारका बारेमा जानकारी समेत गराइएको छ ।

त्यस्तै हुडेप नेपालले दुई ओटा सामुदायिक वनलाई फर्निचरका सामान पनि उपलब्ध गराएको छ । यो कार्यक्रम प्रभावकारी भएको आयोजकले जानकारी दिएको छ । यसबाट लगभग १ सय २० घरधुरीका किसानहरू अर्गानिक खेतीमा लागेको समेत आयोजकले जनाएको छ ।

काँक्रा, कोबी, टमाटर, खुर्सानी, करेला, बोडी लगायतका तरकारीका बिउ साथै तरकारी उत्पादनका लागि चाहिने ड्रम, हजारी लगायतका सामान समेत कृषकहरूलाई उपलब्ध गराएको छ । पछिल्लो समय तरकारीमा विषादीको मात्रा बढ्दै गएको र यसबाट आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्दै गएको कारण पनि त्यसलाई रोक्न यो कार्यक्रम ल्याईएको अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्