
०१ बैशाख २०७६, सुनसरी
सुनसरीको रामधुनी नगरपालिका ४ स्थित धार्मिक तथा पर्यटकीय स्थल रामधुनी मन्दिरमा रामनवमी पर्वको अवसरमा शनिवार भव्य मेला लाग्ने भएको छ । मेलाका लागि पार्किङ, सुरक्षा, खाना, शौचालय, पानी र पूजाका सामान लगायतका सम्पूर्ण तयारी पुरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
झुम्का बजारबाट करिब ९ किलोमिटर पश्चिम रामधुनी वनमा अवस्थित उक्त स्थलमा बालाचतुर्दर्शी, शिवरात्री, रामनवमी जस्ता पर्वमा मेला लाग्ने गरेको र हजारौँ भक्तजनहरू उपस्थित हुने गरेका छन् । पछिल्लो समय यो क्षेत्रमा धेरै मानिस दर्शन गर्न आउने गरेको रामधुनी बाबा बनखन्डी गुठी व्यवस्थापन समितिका सचिव राम कोइरालाले बताए ।
विगतको तुलनामा बाटोघाटो पनि राम्रो बनाइएको र चतरामा पनि अर्धकुम्भमेला लाग्दै गरेको समय भएका कारण यो पटकको मेलामा धेरै भक्तजनहरू उपस्थित हुने अनुमान रहेको छ । विगतमा पनि स्थानीय स्तरमा यो मन्दिरलाई खासै वास्ता नगरेता पनि टाढा टाढा यहाँ भक्तजनहरू आउने गरेका छन् । नेपालका विभिन्न ठाउँहरू, भारत र बर्माबाट पनि दर्शनका लागि यहाँ भक्तजनहरू आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीको भनाई छ ।
त्रेता युगमा भगवान् राम स्वयम् रामधुनीमा आएर आगो तापेको भन्ने विश्वासका आधारमा यहाँ रामनवमीका दिन भव्य मेला लाग्ने गरेको छ । त्यस्तै उक्त ठाउँमा सयौँ ऋषिमुनीहरुले तपस्या गरेको ठाउँ पनि मानिन्छ । त्यहाँ अहिले त्रेतायुगमा रामले लगाएका खराउ, रथको पाङ्ग्रा, तपस्वी स्थल, लगाएताका बस्तुहरू यथावत् रहेका छन् ।
नगरले सहयोग नगरेको गुनासो
यता रामधुनी नगरपालिकाले भने रामधुनी मन्दिरलाई कुनै वास्ता नै नगरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीको गुनासो छ । मुख्य पर्यटकीय स्थल मानिएको उक्त स्थानमा मेलाको अवसरमा पनि नगरपालिकाले कुनै सहयोग नगरेको उनको भनाई छ ।





