आलेख : नजिकिँदै आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता



२७ चैत २०७५, बाँके

घरेलु खेलकूदको कुम्भ मेला नजिकिँदै छ । नेपालगञ्जलाई केन्द्र बनाएर आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताले खेलाडी, खेलप्रेमी र आमनागरिकलाई उत्साहित बनाएको छ । खेलकूदको यो कुम्भ मेलाले खेलप्रेमी र खेलाडीलाई मात्र नभई सिङ्गो देशलाई खेलकूदमय बनाइदिएको छ ।

भव्यता र व्यापकताका हिसाबले मुलुकभित्र हुने आठौं संस्करणको यो प्रतियोगिताले खेल जगत्लाई चलायमान बनाउने र नयाँ गति दिने विश्वास गरिएको छ । राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्न नियमित रूपमा गरिने राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत तल्लो तहबाटै छनोट प्रतियोगिताहरु आयोजना गरी खेलाडी छनोट गरिन्छ । यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरमा चर्चित खेलाडीहरूसँंग प्रतिष्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन् ।

नेपालमा भने राष्ट्रिय खेलकूद प्रतियोगिता शुरु भएको ३८ वर्ष पूरा भइसकेको भए पनि अहिलेसम्म सात वटा संस्करण मात्र आयोजना हुन सकेका छन् । प्रत्येक दुई÷दुई वर्षमा राष्ट्रिय खेलकूद आयोजना गरिने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन । अहिले आठौं खेलकूद हुँदैछ । यहाँ बढेको गर्मीसँगै आठौंको सरगर्मीले नेपालगञ्जलाई छपक्कै छोपेको छ । प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजकलाई भ्याइनभ्याई छ ।

प्रतियोगितामा २ हजार ८२५ पुरुष र २ हजार ३८६ महिला गरी ५ हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिष्पर्धा हुनेछ । कुल ६४० प्रशिक्षक र ४६१ टोली व्यवस्थापकलाई फुर्सद छैन । प्रतियोगिताका लागि ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक छनोट भइसकेका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिष्पर्धा गर्नेछन् ।

व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले ७ हजार पाउने छन् भने राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउने छन् । प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिष्पर्धा गर्ने राखेपका सदस्य सचिव केशवकुमार बिष्टले जानकारी दिए ।

वैशाख ५ देखि ११ गतेसम्म चल्ने प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घघाटन र समापन हुनेछन् । प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याण्डबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । त्यस्तै, दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् ।

यस्तै, रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ भने बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् । ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ । प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो ।

आठौँ खेलकूदको मिति नजिकिएपछि खुशी व्यक्त गर्दै सातौँ खेलकूद प्रतियोगितामा एथलेटिक्सतर्फ स्वर्ण पदक विजेता एम साजन सुनारले भन्नुभयो – “राष्ट्रिय प्रतियोगितामा प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सबैभन्दा खुशीको कुरा हो । घाम, पानी, चिसोले खेलमा कुनै अर्थ राख्दैन ।” उहाँले प्रतियोगितामा सहभागी हुने अवसरले गर्मीलाई गौण बनाइदिएको बताउनुभयो ।

बाँकेका अभिमान चौधरी पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी जनाउँदै हुनुहुन्छ । भारोत्तोलन खेलाडी चौधरीले गर्मीले प्रतियोगितालाई कुनै असर नगर्ने बताउँदै आफ्नो प्रतिभा देखाउने अवसर नजिकिएकामा खुशी व्यक्त गर्नुभयो । “प्रतियोगितामा सहभागी हुन पाउनु नै गर्वको कुरा हो, गर्मी त आउँछ जान्छ, प्रतियोगितामा भाग लिने अवसर सधैँ आउने कुरा हुँदैन,” उहाँले भन्नुभयो ।

एथलेटिक्सकी खेलाडी विश्वरुपा बुढाले सातौँ राष्ट्रिय प्रतियोगितामा बाँकेबाट प्रतिष्पर्धा गर्दै एथलेटिक्समा स्वर्ण पदक जित्नुभयो । “प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सबैभन्दा ठूलो अवसर हो,” उहाँले भन्नुभयो – “आठौँमा पनि प्रतिभा देखाउन पाइने भयो, साह्रै खुशी लागेको छ ।” उहाँले नेपालगञ्जमा गर्मी बढिरहे पनि यसले खेल खेल्न कुनै असर नगर्ने बताउनुभयो ।

“खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि हामी खेल्न सक्छौँ,” उहाँले भन्नुभयो । प्रतियोगिताको मिति तय भएपछि खेलाडीमा उत्साह जागेको एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार खेलाडीहरु स्वतःस्फूर्त रुपमा अभ्यास गरिरहेका छन् । “प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्छ, प्रतियोगिता भएन भने खेलाडीको प्रतिभा मरेर जान्छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्