कोलकाताका साहित्यकारसँग प्रज्ञाको अन्तरविमर्श कार्यक्रम सम्पन्न



२२ चैत २०७५, काठमाडौ

भारतको कोलकाताबाट आएका साहित्यकारसँग चैत्र २१ गते बिहीबारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानले भेटघाट तथा अन्तरविमर्श कार्यक्रम सम्पन्न गरेको छ ।

प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन एवम् प्रवद्र्धनमा कोलकाताका नेपालीभाषी स्रष्टा–सर्जकहरूको महत्पूर्ण योगदान रहेको बताए ।

उपकुलपति डा. जगमान गुरुङले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको पितृभूमि नेपाल रहेको भन्दै नेपाली संस्कृतिको उन्नयनमा कोलकाता निवासी नेपालीको विशिष्ट भूमिका रहेको जनाए ।

कार्यक्रममा कोलकाताका पूर्व महावाणिज्यदूत, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव तथा कवि चन्द्र घिमिरेले कोलकातामा क्रियाशील नेपाली साहित्य, कला तथा संस्कृति सम्बन्धी संघसंस्था र स्रष्टाको उल्लेख्य योगदान रहेको प्रष्ट पार्दै कोलकातामा नेपाली भवन निर्माणका लागि नेपाल र नेपाली जनताको सहयोगको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

सो अवसरमा पूर्व महावाणिज्यदूत तथा पूर्व सचिवहरू युवराज भूषाल, मदन भट्टराई र सुरेशमान श्रेष्ठले कोलकाता सम्बन्धी मन्तव्य व्यक्त गरे ।
यसै गरी उक्त कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ब्रतराज आचार्य, संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, नेपाली जनकल्याण समिति, कोलकाताका अध्यक्ष बद्रीविक्रम थापा, लैनसिंह वाङ्मय प्रतिष्ठान, कोलकाताका अध्यक्ष गणेशकुमार प्रधान, नेपाल–भारत जनमैत्री संघका अध्यक्ष राजु पाठक, सल्लाहकार धर्मराज बराल, अनेसासका अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य व्यक्त गरेका थियो ।

कोलकाताबाट आएका स्रष्टाहरूलाई प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले खादा लगाइदिएर स्वागत गरेका थिए भने कुलपतिले प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू उपहारस्वरूप प्रदान गरे ।

सो अवसरमा कुलपतिले गणेशकुमार प्रधानको ‘कोलकातामा सृजनाका फूलहरू’ पुस्तकका साथै ‘बिहानी’ र ‘मौलो’ नामक पत्रिकाको सार्वजनिकीकरण समेत गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्