प्राथमिक स्वास्थ्य केन्द्रमा विद्युतको आपत, १ गते ढुक्क हुनुहोसः गाँउपालिका प्रमुख



२२ चैत २०७५, चिसापानी

‘अस्पतालमा सेवाग्राही धेरै आउँछन, हाम्रो प्रमुख समस्या विद्युत्को छ, जसले गर्दा हामीले एक्स–रे, इ–सिजि गर्न सकेका छैनौ !’ यो गुनासो हो, प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानीका चिकित्सक राजकुमार दाशको !

काम गर्दै गर्दा आएका समस्याका चाङ सकिएका थिएनन्, उनले गुनासो थप्दै गए ‘खोटाङ सेवा समाज युकेले हामीलाई प्रदान गरेको एम्बुलेन्सले गाउँपालिका मातहतमा रहेर बिरामी नबोकी मान्छे बोक्यो, अहिले बल्ल अस्पतालको मातहतमा आएको छ, ।

केन्द्रमा खानेपानीको उस्तै समस्या रहेको छ, २४ घण्टा सेवा पनि दिन सकिरहेका छैनौ ।’ उनले भने ‘बिरामीलाई त धेरै समस्या छ नै, हामी स्वास्थ्यकर्मीलाई पनि उस्तै समस्या रहेको छ । गाँउपालीकाले पटक पटक सम्म बिजुली बाल्ने आश्वासन दियो । तर कुनै मितिमा बिजुली पाउन सकेका छैनौ ।’

दुई दशकदेखि सञ्चालनमा आएको स्वास्थ्य केन्द्रमा भवन त निर्माण गरिएको छ, तर ति भवनहरू विद्युत् र आवश्यक उपकरणको अभावमा त्यसै रहेका छन् । खोटाङको दक्षणी क्षेत्र जन्तेढुङ्गा गाउपालीकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा जिल्लाका मात्र नभएर छिमेकी भोजपुरका  बिरामी पनि उपचार गराउन आउने गरेका छन् ।

स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी १५ शैय्याको अस्पताल निर्माण गर्ने सङ्घीय सरकारले निर्णय त र्गयो तर अहिलेसमम्म कुनै आधिकारिक पत्र नआएको अस्पतालले बताएको छ । गाँउपालीकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलका अनुसार मन्त्रालयले पत्र पठाएपछि केन्द्रको स्तरोन्नती गरिने छ ।

केन्द्रमा रहेका समस्याको समाधान विषयमा जानकारी दिँदै उनले भने, ‘एम्बुलेन्सको दुरुपयोग भयो भन्ने कुरा सुन्नमा आयो, तर कुनै कारबाही गर्नु भनी पत्र भने आएको छैन, हाल भने एम्बुलेन्स अस्पतालकै मातहतमा छ ।’ पहिलेको तुलनामा स्वास्थ्य केन्द्रमा निक्कै सुधार आएको वताउदै बिरामीलाई सहज तरिकाले उपचार गराउन लागी परेको पोखरेलले जानकारी दिए ।

गाँउपालीकाले केन्द्रको लागी भन्दै यो आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरेको छ । सचेतनाका कार्यक्रमको आयोजना, गर्भवती महिलालाई प्रोत्साहन खर्च लगायतका शीर्षकमा खर्च गर्न उक्त रकम छुट्ट्याइएको हो । पोख्रेलका अनुसार ६५ प्रतिशत बजेट खर्च भएको छ ।

उनका अनुसार गाँउगाँउमा पुगेर गर्भवती महिलाको जाँच, नियमित जाँच गराएका गर्भवती महिलालाई प्रोत्साहन स्वरुप १ हजार वितरण गरीदै छ । स्तरोन्तीका लागी भनी निर्णय गरेको सरकारले चाँडै पत्र पठाए स्तरोनी गरेर केन्द्रलाई थप व्यवस्थित गर्ने गाउँपालिकाको योजना रहेको छ ।

यता पटक पटक आश्वासन दिइसकेका गाउँपालिका प्रमुख शंकरबहादुर राई भने आगामी वैशाख १ गते चिसापानी बजारमा विद्युत् आइसक्ने बताउँदै त्यसपश्चात् केन्द्रको सेवा प्रभावकारी हुने बताउँछन् । धेरै पटक आश्वासन दिएको स्वीकार गर्दै राईले भने, ‘हो मैले आश्वासन दिएको थिए, बिचमा धेरै समस्या पनि आए अव जनतालाई ढुक्क हुन आग्रह गर्छु, अव वैशाख १ मा  चिसापानीमा बिजुली बल्छ ।’

गाउँपालिका मातहतमा रहँदा एम्बुलेन्स दुरुपयोग भएको कुरा भने उनले अस्वीकार गरेका छन् । एम्बुलेन्सले मान्छे बोक्ने काम गरेकै छैन, दुरुपयोग नभई हामीले वडाकार्यलयको आग्रह पछी एम्बुलेन्स स्वास्थ्य केन्द्रमा राखेको राईले जानकारी वताए ।

प्रतिक्रिया दिनुहोस्