सातौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु



२१ चैत २०७५, काठमाडौं

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ सुरु भएको छ । बिहिबार राजधानीको कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा शुभसन्ध्या ब्यान्डको सांगीतिक प्रस्तुतीबाट महोत्सव उद्घाटन गरिएको थियो ।

सुरुवातमा जर्मनका चलचित्रकर्मी जिम क्र्याप्ट र बेस्टियन फिस्चेरले निर्देशन गरेको ‘द मार्च अफ होप स्काई’ प्रदर्शन गरिएको थियो ।

‘सुरक्षित, व्यवस्थित र आत्म सम्मानित आप्रवासन’ भन्ने नारा सहित सुरु भएको चलचित्र महोत्सवमा ३३ वटा देशका ८१  वटा चलचित्र प्रर्दशन गरिनेछ । महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, एनिमेसन, फिचर लगायत सबै विद्याका चलचित्रहरु प्रर्दशन गरिनेछ । नेपालबाट दुई दर्जन भन्दा बढी चलचित्रहरु प्रदर्शन गरिनेछ ।

महोत्सवको निर्णायक मण्डलतर्फ नेपालका चलचित्र समिक्षक अनुप सुवेदी, कोरियाका फिल्म समिक्षक चाङ सेवक योङ, मलेसियाका महोत्सव निर्देशक आना हर मेइ योके र रसियाका फिल्म मेकर लिया गिल्मुट्डिनोभा रहेका छन् ।

महोत्सव उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले समाजमा चेतना विस्तारका लागि चलचित्र सबैभन्दा महत्वपूर्ण साधन भएको बताए । ‘समाज परिवर्तनका लागि चलचित्र राम्रो साधन हो,’ दिमागमा बसेको ‘भिजोल’ले मानिसलाई  तत्काल र सकारात्मक छाप बाँचुन्जेल पाछर्, उनले भने ।

मानव अधिकारको विषयलाई चलचित्रमा समेट्न सकिने भन्दै  उनले चलचित्रका लागि मानव अधिकार उर्भर विषय भएको बताए ।

सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यले राजधानीमा नेपाल मानव अधिकार चलचित्र महोत्सवको सातौं संस्करण सुरु भएको चलचित्र महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए । त्यस्तै, चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले स्वागत मनतव्य राख्दै महोत्सवमा पछिल्लो समय विश्वमा आन्तरिक राजनैतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दंगा र आतंकवादी क्रियाकलापका कारण विस्थापितको कथामा निर्माण भएका चलचित्रलाई प्राथमिकतामा राखिएको बताए ।

महोत्सवमा प्रत्येक दिन चलचित्र प्रर्दशनपछि चलचित्रका विभिन्न विषयक अन्र्तक्रिया गरिनेछ भने महोत्सवमा प्रर्दशन भएका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत समेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्