प्रभावकारी कर अभियान संचालन गर्ने तयारीमा बूढानीलकण्ठ नगरपालिका



२० चैत २०७५, काठमाडौं

स्थानीय सरकार र जनप्रतिनिधिहरुले विकास खर्चमा मात्र ध्यान दिने र राजस्व संकलनमा चासो नगर्ने प्रवृत्ति तथा संघीय सरकारले तोकेको लक्ष्य पुरा नभएपछि बूढानीलकण्ठ नगरपालिकाले प्रभावकारी कर अभियान संचालन गर्ने भएको छ ।

आम नगरवासीहरु विकास र अधिकारका कुरामा मात्र केन्द्रित हुने तर राज्यलाई बुझाउनुपर्ने कर छल्न तिर केन्द्रित हुन थालेपछि आगामी वर्षको बजेटबाट केन्द्रिय अनुदानमा ब्यापक कटौती हुने चेतावनीपछि बूढानीलण्ठ स्थानीय सरकार प्रभावकारी कर अभियान संचालन गर्न बाध्य भएको हो ।

नगरपालिकाले सवै वडाका वडाध्यक्ष र वडासचिवलाई निर्देशन दिदैं चैत मसान्तसम्म नगर क्षेत्रभित्र संचालन गरेका व्यवसाय, बहाल र घरजग्गा कर उठाउने लक्ष्य तोक्दै कम राजस्व संकलन गर्ने वडालाई आगामी बर्ष थोरै बजेट र बढी राजस्व संकलन गर्ने वडालाई पचास प्रतिशत भन्दा बढी बजेट घोषणा गरेसँगै बैशाख दुई बाट सवै वडा कार्यालय राजस्व संकलनमा केन्द्रित हुने बताईएको छ ।

चैत २५ भित्र नगरक्षेत्र भरी माईकिङ्ग र पर्चा वितरण गर्दै चैत मसान्तसम्ममा वडा कार्यालयमा आई आफ्नो व्यवसाय दर्ता तथा नवीकरण गर्न अनुरोध गर्ने र सो समयमा नआए नगरपालिकाले कर्मचारी खटाई स्थलगत रुपमै राजस्व संकलन गर्ने योजना बनाएको राजस्व शाखा प्रमुख अच्युत खड्काले छलफलमा बताए ।

प्रतिक्रिया दिनुहोस्