‘नेटर्वोकीङ्ग’का माध्यमबाट ठगी गर्ने ६ जना पक्राउ



१८ चैत २०७५, इटहरी

अवैध रूपमा भारतबाट नेपाल भित्र्याईएको नियन्त्रित औषधी सहित इटहरीबाट ६ जना पक्राउ परेका छन् । इटहरी ५ मा होस्टेल नै बनाएर प्रतिबन्धित ‘नेटर्वोकीङ्ग’ व्यवसायमा संलग्न ६ जना सहित ‘ओरियन्स’ ब्रान्डका औषधी बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी समीर चन्द्र खरेलका अनुसार इटहरीका १५ जनाले संयुक्त रुपमा आफूहरू ठगिएको उजुरी दिएपछि प्रहरीले इटहरी–५ मा रहेको कृष्ण पुरीको घरमा छापा मारेको थियो । उजुरीमा १५ जनासँग ९ लाख १३ हजार ५ सय ठगी गरेको आरोप लगाइएको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिकाका सन्दीप कुमार भुजेल, सुर्खेतको लेखवेती नगरपालिकाका १८ वर्षीय प्रकाश राउत, सुर्खेतकै चिङगार्ड नगरपालिकाका महेश शर्मा, भेरीगंगा नगरपालिकाका, लक्ष्मी पुन मगर, वीरेन्द्रनगर नगरपालिकाकी मनीषा सुवेदी र सप्तरीको खडकपुर नगरपालिकाका अर्जुम प्रसाद चौधरी रहेका छन् । प्रहरीका अनुसार उक्त स्थानबाट ‘ओरीयन्स’ ब्रान्डका १६ प्रकारका २८८ थान औषधी सहित ‘ओरीयन्स’का ओरेन्टेसन चलाउने सहयोगी पुस्तक, आर्थिक कारोबार गर्न प्रयोग भएका विभिन्न रजिस्ट्रार, ठगिएका व्यक्तिले गरेको मन्जुरी नामा, विभिन्न रसिद तथा भौचर, र नेपाली नगद १६ हजार बरामद गरिएको छ । बरामद औषधी ल्याउन नेपालमा कमपन दर्ता गरी पटके इजाजत लिएको हुनु पर्ने प्रहरीको भनाई छ । नियन्त्रण गरिएका औषधीमा छाला र यौन सँग सम्बन्धित औषधी धेरै छन् ।

यसरी हुन्छ ‘नेटर्वकीङ्ग’ ठगी
भारतका केही राज्यमा कानुनीरुपमा मान्यता पाएको ‘नेटर्वकीङ्ग’ व्यवसायलाई नेपालमा भने गैरकानुनी मानिएको छ । मुलुकी अपराध सहीता अनुसार यसलाई ठगी अन्तर्गत मुद्दा चलाउन सकिन्छ । इलाका प्रहरी कार्यालय इटहरीका इनिस्पेक्टर बुद्धि चौलागाँईका अनुसार नेपालका विभिन्न स्थानमा होस्टेल संचालना गरी सामाजिक सञ्जालका साथै अन्य माध्यमबाट विभिन्न स्थानका युवालाई सदस्यका रूपमा ल्याउने गरिन्छ । ७ सहजार देखी १७ हजार सम्म रकम बुझाएर त्यसको सदस्य बनेपछी पिरामिड शैलीमा त्यसको सञ्जाल बिस्तार गरी बरामद गरिएका औषधी बिक्री गर्ने गरिएको छ । ‘डाईमन्ड’ नाम दिइएका पदको आश्वासन दिई धेरै रकम तिर्नेलाई ठुलोपद दिने भन्दै १ लाख ५० हजार सम्म सदस्यता शुल्क लिने गरिएको छ । ती सदस्यबाट नयाँ सदस्य बनाउँदै ठगी गर्ने प्रचलन रहेको छ ।

चौलागाँईका अनुसार पक्राउ परेका व्यक्ति उपर ठगी अन्तर्गत मुद्दा दर्ता गराइने छ । झापाबाट समेत यस्तै प्रकारका ५ लाख बढी मूल्यका औषधी सहित ४ जनालाई नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्