
१८ चैत २०७५, काठमाडौं
आइतबार साँझ आएको हावाहुरीले नेपालको पूर्वी तराईका दुई जिल्लामा धनजनको ठूलो क्षति भएको छ ।
सोमबार बिहान बारामा कम्तीमा २९ जनाको र पर्सामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । क्षतिको थप विवरण आउन बाँकी नै छ ।गृहमन्त्रालयको आपत्कालीन कार्य सञ्चालक केन्द्रका अनुसार छ सयभन्दा बढी व्यक्तिहरू घाइते भएका छन् । मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
साँझ साढे सात बजेदेखि सुरु भएको हावाहुरी झन्डै आधा घण्टासम्म चलेको थियो । हावाहुरीले माटोबाट बनेका कच्ची घरहरूमा क्षति पुर्याउनुका साथै बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ । शक्तिशाली हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारी साधनहरूलाई पल्टाइदिएको थियो ।
आइतबार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो ।





