काठमाडौं ४ बाट नेकपाको प्रदेश ३ मा छानिएका ३ चर्चित नेताहरु



१७ चैत २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  ३ नम्बर प्रदेश कमिटीमा काठमाडौं ४ वाट १० महिना अघि छानिएर गत हप्ता पार्टी सपथ लिएका निर्मल कुईकेल, उद्धवप्रसाद खरेल र सुन्दर पुर्कुटी काठमाडौंमा जन्मिएर पार्टी राजनीतिलाई जीवनको अभिन्न अंग बनाएका चर्चित नेता हुन् ।

विद्यार्थी जीवनबाट अनेरास्ववियुमा आवद्ध हुँदै कम्युनिष्ट आन्दोलनमा सक्रिय तीनै जना निष्ठाको राजनीति गर्ने पार्टीका कार्यकर्ता समेत हुन् । कम्युनिष्ट राजनीतिमा लागेका कतिपय नेताहरुको जीवनशैली र व्यवहार फेरिए पनि ३ दशक बढी स्थानीय राजनीतिमा क्रियाशील यी नेताको व्यवहार र जीवनशैली सरल छ, उस्तै छ, फेरिएको छैन् ।

राजनीतिमा बढ्दो अपराधिकरण, गुण्डागर्दी र बल मिच्याई सँग न यिनीहरुको ईच्छा छ न कुनै साईनो ! आधुनिकताको नाममा प्राकृतिक भू–भागहरु बदलिए, हिजो किसानले अन्नपात उब्जाउने खेतहरु महलमा बदलिए, जनसंख्या हजारौँ गुणाले बदलियो तर यी तीनै नेताको न जीवनशैली र व्यवहार बदलिएन । जनताको सेवामा आफूलाई समर्पित गरेका यी तीनै जनाले आफ्नो सम्बन्धलाई कार्यकर्ता र जनतासँग अझ दरिलो, कसिलो र भरोषा योग्य बनाउँदै लगे । त्यसैले त जिन्दगीको आधाभन्दा बढी उमेर अनवरत रुपमा अर्पिए, कम्युनिष्ट आन्दोलन र पार्टी जीवनको लागि !

भूगोल, सभ्यता, संस्कृति र पारिवारिक पृष्ठभूमि फरक होला तर वर्गीय डोरीमा निरन्तर बाँधिईरहे चाहे त्यो पंचायती कालो समय, निजिवादको चरम काँग्रेसी शासन वा राजाको निरंकुश शासनमा ! यिनीहरुको वर्गीय आन्दोलनलाई न पंचायतले टुटाउन सक्यो, न राजाको शासन न पार्टी विभाजनको शिकारले ! यी तीनैजना हिजोदेखि आजसम्म अनवरत रुपमा एउटै कम्युनिष्ट पार्टीमा लागिरहेर नै आजको एकीकृत कम्युनिष्ट पार्टीको प्रदेश कमिटीमा एकैपटक छानिन् समेत सफल भए ।

श्रमजीवी जनता र वर्गीय आन्दोलनको अग्रिम भागमा आफूलाई सतिशाल झैँ उभ्याउन सफल ३ नेताको छोटो  राजनीतिक पृष्ठभूमि :

निर्मल कुईकेल
काठमाडौं जिल्ला हालको काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित पाशुपत क्षेत्रमा जन्मिएका निर्मल, गोविन्द प्रसाद कुईकेल र भवानी देवी कुईकेलका कान्छो छोरा हुन् ।

पाशुपात क्षेत्रकै शारदा नि.मा.वि.बाट कक्षा ७ सम्मको पढाई पुरा गरी कक्षा ८ देखि पशुपति मित्र मा.विमा भर्ना भएसंगै २०३९ सालदेखि अनेरास्ववियुमा आवद्ध भए । २०४१ सालदेखि नेकपा मालेको वडा सक्रिय दलमा जोडिएका कुईकेल राजनीतिमा क्रियाशील हुँदै २०४७ सालको पार्टी एकीकरणपछि बनेको नेकपा एमालेको संगठित सदस्य भए ।

पार्टी एकता हुनुअघि नेकपा मालेको सदस्यता लिएका कुइकेल २०४७ मा  तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको वडा सचिबको जिम्मेवारी पूरा गरि २०५० सालमा पार्टीको वडा कमिटि सचिव हुँदै २०५१ सालमा क्षेत्र नं. १ ईलाका कमिटी सदस्य हुँदै २०५३ सालमा विशेष जिल्ला कमिटिको उपसचिवमा निर्वाचित भए ।

स्थानीय राजनीतिमा निकै लोकप्रिय कुईकेलले २०५१ सालको उप–निर्वाचनमा पार्टी उम्मेदवार विद्यादेवी भण्डारीलाई निर्वाचन जिताउन वडा कमिटिको नेतृत्व गर्दै सानो जनसंख्यामा १०४९ मतान्तरले वडाबाट भण्डारीको पक्षमा मत ल्याउन निर्णायक भूमिका निर्वाह गरे ।

२०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचन परिचालन कमिटि क्षेत्र नं. २ को संयोजक भएका कुईकेल, पार्टी विभाजनपछि तत्कालिन एमालेको विशेष जिल्ला कमिटी सचिव भई  २०५६ सालको संसदीय निर्वाचनमा पार्टी उम्मेदवार  विद्यादेवी भण्डारीलाई जिताउन क्षेत्रीय निर्वाचन परिचालन कमिटिको संयोजक भई सफलता दिलाउन समेत सफल भए । २०६० मा विशेष जिल्ला कमिटीबाट  काठमाडौं जिल्ला कमिटी सदस्य बने ।

२०६२/०६३ सालको  जन आन्दोलन सफल बनाउन अर्ध भूमिगत ढंगले पार्टी जिल्ला कमिटीको नेतृत्व गरेका कुईकेल २०६६ मा नेकपा एमालेको २ समानान्तर कमिटि समायोजन भई काठमाडौं जिल्ला कमिटिको संयोजक बनी २०६७ सालमा पार्टी अधिवेशनबाट निर्वाचित काठमाडौं जिल्ला पार्टी अध्यक्ष भए ।

जनआन्दोलन पछि गठित सरकारले २०६३ कार्तिकमा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्ति पाएका कुईकेलले २३ महिने कार्यकालमा विद्युतीय शवदाह गृह, नेपाल–भारत मैत्री धर्मशाला र पशुपति क्षेत्रको गुरुयोजना लागु गर्न निकै सक्रिय भए । २०६५ सालमा विभागीय मन्त्री फेरिएसँगै कुईकेलले नैतिकताको आधारमा सदस्य सचिव पदबाट राजिनामा दिई पार्टी राजनीतिमा क्रियाशील भए ।

२०७० सालको संविधान सभा निर्वाचनमा काठमाडौं–४ बाट नेकपा एमालेको उम्मेदवार भएका कुईकेल निर्वाचनमा पराजित मात्र भएनन् । सरकारी जिम्मेवारीमा अयोग्य घोषित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको उदाहरण दिंदै कांग्रेस विरुद्ध सार्वजनिक सभामा बोलेका ४ चुनावी भाषणका कारण सदस्य सचिव हुँदा सूचना चुहावट गरी भ्रष्टाचार गरेको भनी लोकमान कार्कीकै दबाबमा सात वर्षपछि विशेष अदालतमा भ्रष्टाचार गरेको मुद्दा दायर भएसँगै २०७२ मा पार्टी अध्यक्षबाट राजिनामा दिए ।

१८ महिना पछि विशेष अदालतले कुइकेललाई निर्दोष पाएपछि पूर्ण सफाई दियो । सफाई पाएको १५ दिनभित्रै नेकपा एमालेले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बनायो तर आफ्नो निर्दोषताको विषयमा कार्यकर्ता र जनताबीच पर्याप्त प्रचार गर्न नसक्दा २०७३ को प्रदेशसभा निर्वाचन मात्र होईन पार्टीभित्र समेत शंकाको घेरामै परिरहे ।


उद्धव प्रसाद खरेल
काठमाडौं जिल्ला चपली भद्रकाली गा.वि.स. वडा नं. ८ मा बुवा विष्णु प्रसाद खरेल र आमा नन्दकुमारी खरेलका पहिलो सन्तान हुन्–उद्धवप्रसाद खरेल ।

गणेश नि.मा.वि.बाट कक्षा ७ उत्तिर्ण गरेका खरेल शान्ति विद्या गृहबाट ८ कक्षामा भर्ना भई एस.एल.सी. गरे । २०३८ सालदेखि सरस्वती क्याम्पस आई कममा भर्ना भएका खरेल सोहि वर्षदेखि अनेरास्ववियुको प्रारम्भिक कमिटीमा बसेर काम गर्न थाले । २०३८ सालदेखि नै आन्तरिक प्रतिस्पर्धाबाट आफूले प्राथमिक तह पार गरेको गणेश स्कूलमा प्रा.वि.का अस्थायी शिक्षकमा छानिए ।

क्याम्पस पढ्दा अनेरास्ववियुमा काम गर्ने खरेल दिनभरी विद्यालयमा पढाएर साँझ विहान पार्टीको काम गर्थे । २०४० सालदेखि नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य भएका खरेल सोही वर्ष संगठनको उत्तर पूर्वी ईलाकाको संयोजकमा तोकिए ।

२०४२ सालको शिक्षक आन्दोलनमा संघर्ष समितिको सदस्य भई आन्दोलनमा लागेका खरेल सोहि वर्ष नै प्रतिस्पर्धाबाटै स्थायी शिक्षक बने पश्चात अनेरास्ववियु छोडी पार्टीकै मार्क्सवादी अध्ययन दलको सदस्य भए । २०४३ सालदेखि गाउँ पार्टी सक्रिय दलको सदस्य भएका खरेलले २०४३ सालको निर्वाचमा जनपक्षीय उम्मेदवार पदम रत्न तुलाधरलाई जिताउन चुनावी प्रचार समितिको सदस्य भई काम गरे । २०४५ सालमा ईलाकीय पार्टी सक्रिय दलको सदस्य भएका खरेल २०४६ सालको जन–आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।

२०४७ सालमा एकीकरण भई बनेको नेकपा एमालेको सदस्य बनेका खरेल सोहि वर्षदेखि २ नं. निर्वाचन क्षेत्रीय कमिटीका सदस्य भए भने २०५१ सालमा मध्य ईलाका पार्टी कमिटिको संयोजकमा छानिए ।

स्थायी शिक्षकबाट राजिनामा दिई २०५४ सालको स्थानीय निर्वाचनमा चपली भद्रकाली गाउँ विकास समितिको अध्यक्षमा उठेका खरेल जनताको मायाले सानदार मत ल्याई निर्वाचित बन्न सफल भए ।

२०५८ सालदेखि नेकपा एमालेको क्षेत्रीय सचिव भएका खरेल २०६३ सालदेखि नेकपा एमालेको काठमाडौं जिल्ला पार्टी सदस्य बने । २०६७ सालदेखि नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका खरेल नयाँ संरचना अनुसार प्रदेश कमिटिको सदस्य बने । २०७३ सालको स्थानीय निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा निर्वाचित खरेल अहिले नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यको रुपमा समेत क्रियाशील रहेका छन् ।


सुन्दर पुर्कुटी
काठमाडौं जिल्ला महाँकाल गा.वि.स.वडा नं. १ मा बुवा वीरबल पुर्कुटी र आमा बाटुली पुर्कुटीको जेठो सन्तानका रुपमा जन्मिएका सुन्दर पुर्कुटीले गणेश स्कूलबाट कक्षा ४ सम्म अध्ययन गरी ५ देखि एस.एल.सी. सम्म भानुभक्त मेमोरियल स्कूलमा अध्ययन गरी एस.एल.सी.उत्तीर्ण गरे ।

कक्षा ९ मा पढ्दै अनेरास्ववियुमा आवद्ध पुर्कुटीले त्रि–चन्द्र क्याम्पसमा विज्ञान पढ्दादेखि नै २०४५ सालदेखि पार्टीकै वर्गीय संगठन उत्पीडित जातीय उत्थान मंचको सदस्य भई शाखादेखि काम गर्दै २०५४ सालमा मुक्ति समाज काठमाडौंको जिल्ला सचिव, २०५६ मा अध्यक्ष, २०५८ मा उपत्यका संयोजक, २०६० मा केन्द्रीय सदस्य हुँदै २०६६ सालमा समाजको केन्द्रीय सचिवमा निर्वाचित भए ।

२०४३ सालमा जनपक्षीय उम्मेदवार ईन्द्र बहादुर तामाङलाई जिताउने अभियानमा सक्रिय पुर्कुटी २०४८ सालमा पार्टी सदस्यता लिई २०४९ को निर्वाचनमा बामपन्थी उम्मेदवार मल्ल के. सुन्दरलाई जिताउन सक्रिय रहे ।

प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको महाँकाल गाउँ कमिटि अध्यक्ष हुँदै क्षेत्र नं. ३ को क्षेत्रीय सचिवको जिम्मेवारी समेत बहन गरेका पुर्कुटी पार्टी गाउँ कमिटी सदस्य, ईलाका कमिटी सदस्य, ईलाका कमिटी सल्लाहकार संयोजक, ३ नं. क्षेत्रीय पार्टी सदस्य हुँदै २०६३ सालदेखि नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य हुँदै २०६४ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बने ।

पार्टीको उपत्यका समन्वय कमिटिको सदस्य समेत भएका पुर्कुटी नेपाल सरकारको बूढानीलकण्ठ क्षेत्र विकास समितिको सदस्य समेत भए । २०६३ सालमा जिल्ला समन्वय समिति काठमाडौंको उपाध्यक्ष र उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिको कार्यकारी निर्देशकको रुपमा समेत कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका पुर्कुटीले विभागीय मन्त्री फेरिएसँगै पदबाट नैतिकताको आधारमा राजीनामा दिए ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकारको भूमिका निर्वाह गरिरहेका पुर्कुटी पार्टी संगठन निर्माण र विस्तारमा निकै सक्रिय देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्