
पोर्चुगलमा २६ वर्षे एक महिला खेलाडीको बिहिबार बच्चालाई जन्म दिएपछि मृत्यु भएको छ । डिसेम्बर महिनादेखि नै उनलाई ब्रेन डेड अर्थात् मानसिक रुपमा मृत घोषित गरेको थियो ।
अन्तरराष्ट्रिय स्तरकी खेलाडीसमेत रहेकी क्याथरिन सेकेराको डिसेम्बर महिनामा अत्यधिक दम बढेपछि उनलाई ब्रेन डेड घोषित गरिएको थियो ।
३२ हप्ताको गर्भपछि नै छोराको जन्म भयो जसको नाम स्लवाडोर राखिएको छ । स्लवाडोर यतिबेला नियोनेटल अस्पतालको निगरानीमा छन् । पोर्चुगलमा ब्रेन डेड महिलाले बच्चालाई जन्म दिएको यो दोस्रो घटना हो ।
सेकेरा निकै प्रतिभाशाली क्यानोइस्ट थिइन् । उनले आफ्नो देशको प्रतिनिधित्व पनि गरेकी थिइन् तर उनलाई वाल्यकालदेखि नै दमको समस्या थियो ।
सेकेरालाई दम हुँदा उनी १९ हप्ताकी गर्भवती थिइन् । त्यसपछि उनी कोमामा गइन् र त्यसको केही दिनपछि डाक्टरले उनलाई ब्रेन डेड घोषित गरे । उनलाई ५६ दिनसम्म भेन्टिलेटरमा राखियो ता कि उनको गर्भको बच्चा हुर्किन सकोस् ।
‘आफूलाई बच्चाको लागि मात्र जिउँदो राखिन्’
डाक्टरका अनुसार उनीहरुले बच्चालाई शुक्रबार जन्माउने सोचेका थिए । शुक्रबार नै ३२ हप्ता पूरा हुँदै थियो तर सेकेराको बिग्रदोँ अवस्थालाई हेरेर बच्चालाई बिहिबार नै जन्म दिइयो ।
अस्पतालको आचार समितीका प्रमुख फिलिप एल्मेडाले बच्चालाई आमाको गर्भमा जिउँदो राख्ने निर्णय परिवारसँग कुराकानीपछि लिइएको थियो ।
उनी भन्छन्, ‘यी आमाले आफ्नो बच्चालाई जीवित राख्नका लागि आफैंलाई दान थरिन् । एक आमाको निर्णयलाई चुनौती दिन कसैको अधिकार छैन ।’
बच्चाका पिता र परिवार बच्चालाई कुनै पनि हालतमा जिउँदो राख्न चाहन्थे । खबर अनुसार बच्चाको तौल १.७ किलोग्राम छ र उनलाई तीन हप्तासम्म अस्पतालमा राखिनेछ ।
सेकेराकी आमा मारिया डे फेटिमा ब्रैंकोले पोर्चुगाली टिभीलाई उनले २६ डिसेम्बरमा आफ्नी छोरीलाई विदाई गरेपनि ज्वाईंले सधैं पिता बन्न चाहेका कारण बच्चालाई राख्ने निर्णय गरेको जानकारी दिइन् । एजेन्सी





