प्रदेश २ को विकासमा इन्जिनियरहरूको चासो



१७ चैत २०७५, जनकपुरधाम

प्रदेश २ सरकारका आन्तरिक ममिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले इन्जिनियरहरू विकासको मेरुदण्ड भएको बताएका छन् । चैत १५ गते शुक्रबार जनकपुरमा आयोजित वर्कशप क्वालिटी कन्सट्रक्सन समारोहमा उनले भने, ‘इन्जिनियरहरूलाई मैले विकास निर्माणको ब्याक बोन मानेको छु ।

कुनै पनि विकासमा कुशल इन्जिनियरको महत्वपूर्ण हात रहन्छ ।’ कार्यक्रममा विकास निर्माणमा हुने क्वालिटीबारे व्यापक छलफल भएकोे थियो । मन्त्री यादवले गुणस्तरीय निर्माणको जिम्मेवारी बोकेका प्रदेशभरिका इन्जिनियरहरूले प्रदेशलाई मजबुतीका साथ निर्माणमा सघाउने आशा व्यक्त गरे । नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश २ केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले उद्योगीहरूका लागि प्रदेश सरकारको सहयोग सधैं रहने आश्वासन व्यक्त गरे ।

उनले भने, ‘प्रदेश २ मा उद्योग खोले २० वर्षसम्म कुनै प्रकारको कर नलिइने व्यवस्था गरेका छौं ।’ उद्योगीहरूलाई प्रदेशमा सक्रिय सहभागी गराउन त्यसका लागि विद्युत, जग्गा पनि प्रदेश सरकारले उपलब्ध गराउने बताएका थिए ।

नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश २ का सभापति नन्दकिशोर यादवको अध्यक्षतामा भएको सो समारोहमा गुणस्तरीय निर्माणमा इन्जिनियरको भूमिकाबारे बहस भएको थियो । ३ सयभन्दा बढी इन्जिनियर सहभागी उक्त कार्यक्रममा गुणस्तरीय निर्माणमा सिमेन्टको आवश्कता र यसको महत्वमाथि समेत छलफल गरिएको अध्यक्ष यादवले जानकारी दिए ।

कार्यक्रममा इन्जिनीयर ध्रुव थापाले प्रदेश सरकारले उद्योगीहरूको लागि दिएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताए । प्रदेश सरकारको अवसर र निर्णयप्रति प्रशंसा तथा खुसी व्यक्त गर्दै उनले भने, ‘प्रदेश २ मा उद्योग सञ्चालन गर्न आतुर छौं ।

कसमस सिमेन्टको आयोजनामा भएको उक्त कार्यक्रममा डा. जीवराज पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने सोही क्रममा इ. थापाले सिमेन्टको क्वालिटीमा आधारित र त्यससम्बन्धी कार्यपत्र सहभागी समक्ष दर्शाएका थिए । खरिद नियमावली सम्बन्धी कार्यपत्र रत्नेश्वर कर्णले कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागी इन्जिनियरहरूले गुणस्तरीय निर्माणमा आफू निष्ठापूवर्क लागिपर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्