चतरामा लाग्ने अर्ध कुम्भ मेलाको तयारी अन्तिम चरणमा



१६ चैत २०७५, इटहरी

सुनसरीको चतरामा आगामी चैत २३ गतेदेखि लाग्ने अर्ध कुम्भमेलाको तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनासम्म लाग्ने मेलाको तयारीको लागी प्रदेश नं. १ सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई खटाएको छ ।

नेपालमा प्रथम पिण्डेश्वर कुम्भ मेला महोत्सवको रूपमा २०५९ साल चैत ६ गते देखि एक महिनासम्म र ०६३ चैत ६ गतेदेखि एक महिनासम्म अर्धकुम्भ मेला प्राचीन हरिद्धार चतराधाममा लागेको थियो । यस्तै, २०७०÷०७१ मा बाह्बर्षे महाकुम्भ मेला आयोजना गरिएको थियो ।

चतरामा नेपालमै पहिलो पटक २०५९ सालमा कुम्भ मेलाको सुरुवात भएको थियो । त्यसपछि २०६३ मा अर्धकुम्भ मेला र २०७० मा बाह्र वर्षे कुम्भमेलाको आयोजना गरिएको थियो ।

प्रचारात्मक कार्यकार्यलाई तीव्रता, चतरासम्म पुग्ने बाटो मर्मत, स्वास्थ्यको व्यवस्था, सुरक्षा व्यवस्था, बास बस्ने, खाने, सरसफाइ लगायतको व्यवस्थापनको जिम्मेवारी तोकेर काम भइरहेको कानुन मन्त्री काकीले जानकारी दिए ।

प्रदेश सरकारको आर्थिक तथा भौतिक सहयोग

मेलाको लागी प्रदेश १ सरकारले आर्थिक तथा भौतिक सहयोग गर्ने भएको छ । मन्त्री कार्कीका अनुसार मेलाको सफलताका लागि सबै स्थानीय तह, निजी क्षेत्र र सरकारी क्षेत्रलाई परिचालन गरिने छ ।

प्रदेशले शौचालयका लागि २० लाख छुट्ट्याएको छ भने अन्य कामका लागि गरी ५० लाख बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आयोजकका अनुसार महाकुम्भ मेला सञ्चालन गर्न दुई करोड रुपैयाँ खर्च लाग्नेछ ।

नेपालका प्रथम ऐतिहासिक जगतगुरु बाल सन्त मोहन शरण देवाचार्य महाराज जीले शास्त्रीय प्रमाणका आधारमा चतराधाममा कुम्भ मेला लगाउन थालेका हुन ।

वैशाख २४ सम्म लाग्ने अर्ध कुम्भ मेलामा चैत २६, वैशाख ६, २१ र २४ गते हुने स्नानमा देशविदेशका लाखौं हिन्दु धर्मावलम्बी सहभागी हुने आयोजकले विश्वास लिएको छ ।

मेलाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको जानकारी आयोजकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्