कामपा ५ लाई नेवारी सभ्यताको केन्द्र बनाउनु पर्छ : सांसद नारायण सिलवाल



१६ चैत २०७५, काठमाडौं

प्रदेशसभा ३ का सांसद नारायण सिलवालले कामपा ५ स्थित गोरखनाथ सत्तल निर्माणको शुभारम्भ गर्दै काठमाडौं महानगर भित्र ऐतिहासिक र पुरातात्विक महत्वको क्षेत्र हाँडीगाउँ लगायत आसपासको क्षेत्रलाई देश कै महत्वपूर्ण सम्पदा केन्द्रको रुपमा स्थापित गर्न महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारले काम गरिरहेको बताएका छन्।

आफ्नै पहलमा रकमान्तर गराएर प्रदेश सरकार मार्फत विनियोजित ५० लाख बजेट मध्ये भ्याट, ओभरहेड कटाएर ३६ लाख रुपैयाँ गोरखनाथ मठ तथा पन्चेधारा संरक्षण समितिले पाउने बताउँदै असार सम्ममा जसरी पनि काम सक्न समितिलाई निर्देशन दिए। कार्यक्रममा आफ्नो विचार राख्दै सांसद सिलवालले भने, ”५० लाख भन्दा माथिको योजना पार्दा टेण्डर आव्हान गर्नुपर्ने कानुनी बाध्यता भएकोले समय अभावको कारण सानो योजना बनाई समिति मार्फत काम गर्नुपरेको छ । अर्को वर्ष गुरुयोजना नै तयार पारी मन्दिर र सत्तल निर्माणको लागि महानगरपालिका वा प्रदेश सरकारबाट थप रकम निकासा गराउन पहल गर्ने छु।”

काठमाडौं महानगरपालिका वडा नं ५ मानव सभ्यताको ऐतिहासिक स्थल भएको बताउँदै हाँडीगाउँ, मालीगाउँ, गहना पोखरी जस्ता स्थानहरुले नेवारी संस्कृति र सभ्यतामा महत्वपूर्ण स्थान पाएको बताउँदै गहनापोखरी आसपासको क्षेत्र कैलाशकुट दरबार रहेको केहि ऐतिहासिक प्रमाण र पुर्खाहरुले दिएको जानकारीको आधारमा सो क्षेत्रको अध्ययनको लागि संघीय सरकारको पहलमा पुरातत्व विभाग र बेलायती विश्वविधालयले अध्ययन गरिरहको जानकारी समेत दिए।

कार्यक्रममा ऐतिहासिक महत्व बोकेको हाँडीगाउँ क्षेत्रको पर्यटन विकासको लागि भट्टी पसल बन्द गरी क्यूरियो तथा पर्यटन केन्द्रीत व्यवसाय संचालन गर्न तर्फ ध्यान दिन समेत सांसद सिलवालले स्थानीयहरुलाई अनुरोध गरे।

नेकपाका नेता तथा स्थानीय समाजसेवी गणेश श्रेष्ठले संचालन गरेको कार्यक्रमको अध्यक्षता गोरखनाथ मठ तथा पन्चेधारा संरक्षण समितिका अध्यक्ष महेन्द्र रेग्मीले गरेका थिएभने वडा अध्यक्ष रमेश डंगोलले प्रदेश सरकारले सत्तल निर्माणमा पुर्याएको सहयोगको लागि धन्यवाद दिएका थिए।

कार्यक्रममा गोरखनाथ मन्दिरको पूजापाठमा सहयोग पुगोस भन्ने उद्देश्यले सांसद सिलवालले रु २५०५ नगद मन्दिरका पुजारीलाई हस्तान्तरण समेत गरेका थिए। स्थानीय महिला, युवा र पौढहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सत्तल निर्माणले गति लिएकोमा संरक्षण खटेका स्थानीयहरू हर्षित देखिन्थे।

प्रतिक्रिया दिनुहोस्