कामपाले अत्याधुनिक दमकल खरीद गर्ने



१६ चैत २०७५, काठमाडौँ

काठमाडौँ महानगपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रयोगमा रहेका दमकल कम भएकाले अब अत्याधुनिक नयाँ दमकल खरीद गरिने जानकारी दिनुभएको छ ।

आइसेट नेपालले शुक्रबार यहाँ आयोजना गरेको कामपामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कानूनी प्रावधानसम्बन्धी अन्तरक्रियामा कामपाका प्रमुख शाक्यले गर्मी बढेसँगै काठमाडौँमा आगलागीका घटनामा पनि वृद्धि हुने हुँदा क्षति कम गर्न थप दमकल खरीद गरिने बताउनुभएको हो । शाक्यले भन्नुभयो, “कामपामा हाल सञ्चालन गरिरहेको दमकलहरु उपहारस्वरुप आएका हुनाले कम छन्, त्यसैले नयाँ खरीद गर्न आवश्यक छ ।” हाल कामपामा चार वटा दमकल रहेकामा एउटा बिग्रिएको छ भने तीन प्रयोगमा रहेका छन् ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले सचेत र सबल समुदायमा विपत्तिको असर कम हुने धारण व्यक्त गर्नुभयो । विपद् व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) ले महानगरले ठोस कानूनी आधार बनाएर विपत्को पूर्वतयारीमा जुटेको जानकारी गराउनुभयो ।

महानगरले अहिले वडा १०, १२ र ३१ मा आइसेट नेपालसँगको सहकार्यमा सुरक्षित शहर परियोजना सञ्चालन गरिरहेको छ । त्यस्तै जोखिम नक्साङ्कनको काम पनि गरिरहेको छ । यसमा प्राकृतिक तथा मानव सिर्जित विपत्तिका दृष्टिमा कुन स्थान कस्ता छन् र सबैभन्दा बढी जनधन क्षति भएको एवं हुन सक्ने स्थानको पहिचान हुनेछ । पहिचान गरिएका स्थानहरुमा हुनसक्ने क्षति कम गराउन समुदायलाई तत्पर बनाउने, उनीहरुलाई आवश्यक पर्ने स्रोतसाधनको जोहो गर्ने लगायतका काम हुनेछन् । यसका लागि वडास्तरीय विपद् व्यवस्थापन समितिको पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्