
१५ चैत २०७५, इटहरी
गएको फागुन ३० गते नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनालले सुरु गरेको दुर्घटना न्युनिकरण सम्बन्धी दोस्रो चरणको १५ दिने महाअभियानको समापन भएको छ । प्रदेश १ प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले बिहीबार कार्यक्रम समापन गरेका हुन् ।
समापन कार्यक्रममा बोल्दै रिजालले सवारी दुर्घटना न्युनिकरण गर्न समुदाय र प्रहरी बिच साझेदारी हुनु पर्ने बताए । सडक दुर्घटनालाई न्युनिकरण गर्न सवारी चालक, पैदल यात्रु , विद्यार्थी लगायतलाई विभिन्न सचेतना कार्यक्रमको आयोजना गरिएको थियो । दैनिक जसो दुर्घटनामा वृद्धि भई रहँदा न्युनिकरणको उपायहरू अपनाउनु पर्ने ट्राफिक प्रहरीले निर्वाह गर्ने भूमिकालाई बिभन्न माध्यमबाट महाअभियानको रूपमै प्रस्तुत गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले चालकलाई मर्या्दित बनाउन चालक पोसाकको अनिवार्य व्यवस्था लागु गरेको छ भने, सवारी चलाउँदा अनिवार्य जुत्ताको प्रयोग गर्नु पर्ने जस्ता विषयमा चालकलाई जानकारी गराउने काम गरेको छ । ट्राफिक नियमको बारे विभिन्न व्यवसायी, विद्यार्थी, चालक, पैदल यात्रुहरू सँग अन्तरक्रिया कार्यक्रम गरी सुधार गर्ने कामलाई ट्राफिकले अगाडी बढाएको प्रदेश एक ट्राफिक प्रहरी प्रमुख रवि पौडेलले बताए ।
पौडेलका अनुसार गत आर्थिक वर्ष भन्दा दुर्घटनाको सङ्ख्यामा कमी आएको छ भने मृत्यु हुनेको सङ्ख्या पनि कमी भएको छ । गत वर्षको तत्थ्यांकलाई हेर्दा ४९८ जनाको दुर्घटनामा मृत्यु भएको थियो भने अहिलेको हाल सम्मको तत्थ्यांकलाई हेर्दा ४२४ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिकले गरेको यस्तो कार्यक्रमले दुर्घटना न्युनिकरणका लागी सहयोग भएको यातायात व्यवसायी बाबुराम प्रधानले बताए ।
सवारी चापलाई व्यवस्थापन गर्न ट्राफिकले टाइम कार्डको समेत सुरु गरेको छ । यस्तै ट्रिफरलाई बिहान ९ देखि ११ बजे सम्म र बेलुका ३ बजे देखि ५ बजे सम्म सञ्चालनमा रोक लगाएको छ । सवारी दुर्घटना हुने मुख्य कारण मापसे रहेको दाबी ट्राफिक प्रहरी कार्यालयको छ । ८० प्रतिशत दुर्घटना मापसेबाट हुने गरेको तत्थ्यांक रहेको छ ।





