‘आठौँ राष्ट्रिय खेलकुद’ मा सहभागी हुने गैरआवासीय नेपाली टोलीको घोषणा



११ चैत २०७५, काठमाडौं

गैरआवासीय नेपाली संघको टोलीले आगामी आठौँ राष्ट्रिय खेलकुदमा सहभागीता जनाउँदै छ । सात प्रदेश, तीन विभागीयसँगै गैरआवासीय नेपाली खेलाडीको टोली राष्ट्रिय खेलकुदमा सहभागी हुने भएका हुन् ।

गैरआवासीय नेपाली संघले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरि सहभागी हुने गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ ।  संसारभर छरिएका नेपाली खेलाडीहरु राष्ट्रिय स्तरको खेलकुदको महाकुम्भ ‘आठौं राष्ट्रिय खेलकुद’ मा सहभागी जनाउन पाएकोमा निकै उत्साही देखिएका छन् ।

इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद परिषदले प्रवासी नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा आमन्त्रण गरेको हो । विदेशमा रहेका नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघ सँग राष्ट्रिय खेलकुद परिषदले खेलकुद क्षेत्रको विकासमा साझेदारी गर्ने उद्देश्य राखी सम्झौता समेत गरिसकेको छ ।

सो सम्झौता बमोजिम गैरआवासीय नेपाली खेलाडीहरुको हिस्सेदारी गैरआवासीय नेपाली संघले सुनिश्चित गर्ने र आगामी दिनहरुमा गैरआवासीय नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा सहभागी हुने बाटो खोल्ने सहमति भएको छ भने आगामी आठौँ राष्ट्रिय खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, यु.ए.इ., मकाउ, जापान र हंगकंग गरि ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरि नौ खेलमा कुल २४ जना खेलाडी सहभागी हुँदैछन् ।

विदेशमा रहेका खेलाडी, प्रशिक्षक र रेफ्रीहरुले त्यहाँ पेशा व्यवसाय संगै आधुनिक समयमा विकास गरिएका खेलका विधि, प्रविधि र व्यवस्थालाई समेत नजिकबाट नियाल्ने र अनुभव गर्ने अवसर पाएका हुन्छन् ।  त्यस्ता खेलकुद सम्बन्धि नविन प्रविधि र विधि नेपालमा भित्र्याउन गैरआवासीय नेपाली खेलाडीको सहभगिताले सफलता मिल्नेछ र साथै राष्ट्रिय खेल प्रतियोगिताहरुमा गैरआवासीय नेपाली खेलाडीहरुको सहभागितासंगै विविध कारण विदेश बसोबास गरिरहेका राष्ट्रिय गौरवका खेलाडीहरुको खेल क्षेत्रमा पुनः पुनरागमन हुने विश्वास गैरआवासीय नेपाली संघले लिएको छ ।

गैरआवासीय नेपाली संघले नेपालमा पछि परेका र प्रविधि मैत्री हुन नसकेका खेल क्षेत्रहरुको पहिचान गरि तिनीहरुको विकासमा साझेदार बन्न चाहेको र स्थापना कालदेखि नै संस्थागत संरचना भित्र युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै आएको समेत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्