भारतीय भन्सारले रुपैडियामा रोक्यो पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर, यस्तो छ भारतीय तर्क !



०७ चैत्र २०७५, काठमाडौँ

भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेको १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ ।

अनलाइनमा समस्या आएको भन्दै ट्याङरसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दूई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यलयका भन्सार अधिकृत शरदकुमार केसीले बताए ।

उनले फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भने अनलाइन सेवा सञ्चालन नभएसम्म नेपाल आउने सम्भावना नरहेको बताए ।

उनले भने ‘हामीले हिजोदेखि भारतीय भन्सारसँग समन्वय गरिरहेका छौं । सर्भरमा समस्या देखिएकोले बनाइरहेको जानकारी पाइरहेका छौं ।’ भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समय नाकामा अवरोध गर्दै आएको उनले जानकारी दिए ।

१० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन् ।

भन्सारका डेपुटी कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्याङ्कर छोड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत केसीले बताए ।

पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भित्र्याउन पहल भईरहेको जानकारी दिँदै नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिशेखकुमार ठाकुरले भने, ‘ट्याङ्कर नेपाल भित्र्याउन हामीले निरन्तर पहल गरिरहेका छौँ ।’

उनका अनुसार नेपाल आयल निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण छ । ट्याङ्कर भित्र्याउन वैकल्पिक उपायका बारेमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्