
०७ चैत २०७५, इटहरी
इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ६ करोडको योजनाहरू संशोधन गरेको छ । मङ्गलवार बसेको नगर सभा बैठकले ६ करोड बराबरको योजना संशोधन गर्दै आर्थिक वर्ष ०७५/७६ को बजेट र उपमहानगरपालिकाले विभिन्न शीर्षकमा उठाउँदै आएको राजश्वको दरलाई संशोधन गर्दै घटाउने निर्णय गरेको हो ।
गत असारमा चालु आर्थिक वर्ष ०७५/७६ का लागि बनाएको योजना र बजेटमा विभिन्न कारण बस योजनाको कार्यान्वयन गर्न नसकिएको निष्कर्ष निकाल्दै नगरसभा मार्फत योजना संसोधन गरिएको नगरसभा सदस्य रमेश प्रसाद चौधरीले जानकारी दिए । चौधरीका अनुसार गत माघ महिनामा सुरु भएको चौथो नगरसभा बैठकले विभिन्न शीर्षकमा उठाउँदै आएको राजश्व पुनरावलोकन गर्दै संशोधन गर्ने निर्णय समेत गरेको छ ।
६ करोडको योजना भित्र झौरादेखि ब्रम्हपुरसम्मको सडक, कान्छीचोक देखी वडहरा हुँदै जनसहयोग स्कुलसम्मको सडक, खनार प्रहरी चौकी हुँदै भारवीकलेड रोड जोडने सडक, वडा नम्बर ७ र ८ लिंकरोडको बाँकी खण्डको सडक, वीर नारायण मार्ग सडक कालोपत्रे गर्ने बहुवर्षीय योजना पारित भएको हो ।
यसैगरी रामजानकी मन्दिरबाट जब्दि टोल जाने बाटो, हल्गडादेखि कंचन चौकसम्मको बाटो जब्दी मेलादेखि शम्भुनाथ आधारभूत विद्यालयसम्मको सडक, वडा नम्बर १ वडा कार्यालयदेखि माझी टोल सम्मको सडक कालोपत्रे गर्ने योजना पनि बहुवर्षीय भित्र रहेका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि बनाईएको आर्थिक ऐनलाई समेत संशोधन गर्दै आर्थिक ऐन २०७५ र विनियोजन ऐन २०७५ कार्यावन्यनका क्रममा समस्या रहेकाले संशोधन आवश्यक रहेको भन्दै उघिल्लो बैठकमा उपमेयर लक्ष्मी गौतमले प्रस्ताव राखेकी थिइन् ।
गौतमको प्रस्ताव अनुसार आर्थिक ऐन २०७५ को दफा २२ को उपदफा १ देखि ४ सम्म संशोधनका लागि पेस भएको थियो । जसमा राजश्व परिमार्जन संसोधन तथा उठाउने प्रक्रियालाई समेत सहज बनाउन संसोधन गरिएको गौतमले जानकारी दिएन ।





