डेढ वर्षभित्रै नेपालको विजुली उत्पादन क्षमता दोब्बर !



४ चैत २०७५, काठमाडौँ

आगामी साढे ३ वर्षमा नेपालले करिब २४ सय मेगावाट थप बिजुली उत्पादन गर्ने भएको छ । हाल नेपालसँग १ हजार मेगावाटको हाराहारीमा मात्रै छ ।

ऊर्जा मन्त्रालयका अनुसार निर्माण सुरु भएका आयोजना समयमै सकिए आगामी डेढ वर्षभित्रै नेपालको विजुली उत्पादन क्षमता दोब्बर हुनेछ । चालु आर्थिक वर्ष २०७५ र ७६ भित्रै २ सय ८७ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिनेछन् ।

विद्युत प्राधिकरणले निर्माण गरिरहेका र निजी क्षेत्रबाट बनिरहेका गरी २० वटा आयोजनाले आगामी साउन अगावै उत्पादन थाल्ने ऊर्जा मन्त्रालयको आँकलन छ ।

कुन–कुन आयोजना यसैवर्ष ?

प्राधिकरणको लगानीमा बनिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ‘ए’ आयोजनाको निर्माणको काम सकिएको छ । अब भौतिक पूर्वाधारको परीक्षणपछि यसले विद्युत उत्पादन थाल्न लागेको छ ।

यो वर्ष लक्ष्यअनुसार काम भए २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाले उत्पादन थाल्नेछ । सोलुखुम्बुमा बनिरहेको यो आयोजना अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको छ ।

यसैगरी २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना पनि राष्ट्रिय प्रसारणलाइनमा जोडिँदैछ । मान्डु हाइड्रोले मकवानपुर र ललितपुरको सीमा क्षेत्रमा निर्माण गरिरहेको भौतिक निर्माणको काम सकिएर परीक्षण उत्पादनको चरणमा पुगेको छ ।

पाँचथरको काबेली बी–१ आयोजना पनि यसैवर्ष निर्माण भएर सञ्चालनमा आउने अपेक्षा छ । २५ मेगावाटको यो आयोजनामा अरुण कावेबी पावर कम्पनीले लगानी गरेको छ ।

यो वर्ष सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ आयोजनाले पनि उत्पादन थाल्ने अपेक्षा छ । यो आयोजनाको जडित क्षमता २२.२ मेगावाट हो । यो आयोजना शिव श्री हाइड्रोपावर कम्पनीले बनाइरहेको छ ।

यस्तै पाँचथरमा निर्माण भइरहेको तल्लो हेवा खोला आयोजना पनि यसैवर्ष राष्ट्रिय प्रसारणलाइनमा जोड्ने योजना छ । यसबाट २१.६ मेगावाट बिजुली थपिन्छ । यो आयोजनाको निर्माण माउन्टेन हाईड्रोपावर नेपाल प्रालिले गरिरहेको छ ।

कास्कीमा हिमालयन हाइड्रोपारले निर्माण गरिरहेको १२ मेगावाटको नमार्जुन मादी आयोजनाले पनि यसैवर्ष पूर्णता पाउनेछ । कास्कीकै ७ मेगावाटको माथिल्लो मार्दी आयोजना पनि साउन लाग्नुअघि नै राष्ट्रिय प्रसारणमा जोडिने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

यसबाहेक ताप्लेजुङमा बनिरहेको इवा खोला जलविद्युत आयोजनाबाट पनि यसैवर्ष विजुली सुरु हुनेछ । ९.९ मेगावाटको यो आयोजनामा रियरिङ हाइड्रोपावर कम्पनीले लगानी गरेको छ ।

कास्की र लमजुङको सीमा क्षेत्रमा बनेको ८.८ मेगावाटको रुदीखोला ‘ए’ आयोजनाले परीक्षण उत्पादन गरिरहेको छ । यो आयोजनाबाट उत्पादित विजुली हालसालै राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । रुदी ‘बी’ले पनि यसैवर्षबाट उत्पादन थाल्नेछ । यो आयोजना ६.४ मेगावाट क्षमताको हो । यी दुबै आयोजनालाई बिन्दबासिनी हाइड्रोपावरले प्रवद्र्धन गरेको हो ।

आगामी वर्ष विजुली उत्पादनमा ‘कोशेढुंगा’

यी आयोजनाहरुको प्रगति अवस्था हेरेर ऊर्जा मन्त्रालयले यसैवर्ष राष्ट्रिय प्रसारणमा जोड्ने गरी तयारी भइरहेको बताएको छ ।

मन्त्रालयका अनुसार आगामी आर्थिक २०७६ र ७७ वर्षमा मात्रै ९ सय ८२ मेगावाट क्षमताका आयोजनाबाट विजुली उत्पादन सुरु हुनेछ । आगामी वर्ष ४५६ मेगावाट विजुलीको उत्पादन सुरु हुनेछ । त्यस्तै १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना पनि आगामी वर्षबाटै सञ्चालनमा ल्याउने लक्ष्य छ ।

८२ मेगावाटको तल्लो सोलु ४२.५ मेगावाट दोर्दीखोलाबाट २७ मेगावाट अपर दोर्दी ए बाट २५ मेगावाट सिंगाटीखोलाबाट १६ मेगावाट अपर सान्जेनबाट १४.८ मेगावाट र अपर खिम्तीबाट १२ मेगावाट विजुलीको उत्पादन आगामी आर्थीक वर्षबाटै सुरु हुनेछ ।

८२ मेगावाटको तल्लो सोलु ४२.५ मेगावाटको सान्जेन मस्ट्री खोलाको ४२ मेगावाटको खानी खोला –१ अपर बलेफी एको ३६ मेगावाट बिजुली पनि वर्ष नै राष्ट्रिय प्रसारणलाईनमा थपिने छ ।

आगामी वर्षबाट नेपालले वर्षायाममा ठूलो परिमाणमा विजुली बैंकिङ गर्न सक्ने नेपाल विद्युत प्राधिकरणको दावी छ ।

प्रतिक्रिया दिनुहोस्