बच्चा छुटेपछि अकस्मात मोडियो हवाईजहाज !



३ चैत २०७५, काठमाडौँ

एकजना महिला यात्रुले आफ्नो बच्चालाई एयरपोर्टमै बिर्सेर छाडेको थाहा पाएपछि आकाशमा उडिरहेको हवाईजहाजलाई फर्काएर बच्चा छुटेकै एयरपोर्टमा ल्याइएको छ ।

यो घटना साउदी अरेबियाको हो । किंग अब्दुल अजिज अन्तराष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुरका लागि उडेको साउदी एयरलाइन्सको जहाज उडेको केही मिनेटमै त्यसमा चढेकी एकजना महिला यात्रुले आफ्नो बच्चा एयरपोर्टमै छोडिएको भन्दै चिच्याउन थालिन् ।

त्यसपछि अवस्थालाई दृष्टिगत गर्दै पाइलटले आकाशमा उडाइरहेको जहाजलाई अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गराए ।

यात्रुको बच्चा छाडिएका कारण उडिरहेको जहाज आकस्मिक रुपमा फर्काइएको यो सायद पहिलो घटना हो । सायद त्यहीँ भएर यस्तो आकस्मिक अवतरणलाई कस्तो नाम वा अवस्थाको संज्ञा दिने भन्ने कुरामै एयरपोर्टका कर्मचारीहरु अलमल्लमा परे ।

जहाज उडाइरहेका पाइलटले विमानस्थलका एटिसीसँग संवाद गर्दै सोधे, ‘एकजना यात्रुले प्रतिक्षा कक्षमा आफ्नो बच्चा छाडेका कारण जहाजलाई फिर्ता ल्याउनु पर्यो । ईश्वरले हाम्रो साथ दिउन् । के हामी फिर्ता आउन सक्छौँ ?’ एटिसीसँग पाइलटले गरेको संवादको भिडियो निकै भाइरल बनेको छ ।

पाइलटले यस्तो आग्रह गरेपछि एटीसी अलमल्लमा परे । त्यस्तो घटनाको प्रोटोकलका बारेमा उनले आफ्नो सहकर्मीसँग सोधे ।

पाइलटले एकजना महिला यात्रुले बच्चा छाडिएको भन्दै आफू जहाजमा अगाडि जान नसक्ने भनेको कारण जहाज फर्काउन आवश्यक रहेको बताए । त्यसपछि एटीसीले जहाजलाई फिर्ता गरेर आकस्मिक अवतरण आफ्नो लागि नयाँ रहेको उनले बताए ।

बच्चा छाडिएर पीडामा परेकी महिला यात्रुकै लागि विमानलाई मोडेर आकस्मिक अवतरण गराउने ती पाइलटको सोसल मिडियामा प्रशंसा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्