बहस राजधानीको : इटहरीको पक्षमा ९४ प्रतिशद मत !



०२ चैत २०७५, इटहरी

प्रदेश नं १ को स्थायी राजधानीको विषयमा प्रदेश सरकारले टुङ्गो लगाउन नसक्दै गर्दा विभिन्न ठाउँमा दबाबमूलक कार्यक्रम भइरहेका छन् । धरान, धनकुटा, मोरङको गोठगाँउ, विराटनगरका स्थानीय र जनप्रतिनिधिले आफ्नो क्षेत्रमा राजधानी हुनुपर्ने भन्दै प्रदेश सभालाई दबाब दिइरहेका वेला इटहरीमा पनि दबाबमूलक कार्यक्रम सुरु भएको छ ।

इटहरीलाई प्रदेश १ को राजधानी घोषणा गर्नुपर्ने माग राख्दै राजधानी सरोकार समाजले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी बिभिन्न दबाब मूलक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज पहिलो चरणमा इटहरीको मुख्य चोक क्षेत्रमा  नमुना मतदान गरेको छ ।

इटहरीका स्थानीय र इटहरी हुँदै आवतजावत गर्ने बटुवाहरूबाट राजधानीको लागि नमुना मतदान भएको थियो । जसमा ८ सय जनाले आफ्नो मत राखेकामा ७ सय ४९ जनाले इटहरी राजधानी हुनुपर्नेमा मत खसालेको समाजले जनाएको छ ।

अन्तरराष्ट्रिय सीमा नजिक राजधानी उपयुक्त हुन्छ कि हुँदैन भनी गरिएको सर्वेक्षणमा ७ सय ९५ जनाले उपयुक्त नहुनेमा मत दिएका थिए भने ५ मत बदर भएको थियो । त्यस्तै मोरङको गोठगाउँमा राजधानी हुनुपर्छ भनेर २० जनाले र धनकुटामा राजधानी हुनुपर्छ भनेर ३१ जनाले मतदान गरेको समाजले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै समाजका संयोजक इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले इटहरीलाई राजधानी घोषणा गर्न आनाकानी भएमा स्थानीय स्तरबाटै जनताले सडक आन्दोलनमा उत्रिन बाध्य हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्