जब डा. राजन भट्टराई काठमाडौँ महानगरपालिकाको कर्णाली पुगे



०२ चैत २०७५, काठमाडौँ

काठमाडौँ महानगरपालिका भित्रका कुनै बस्ती अझै पनि बिजुलीको पोल समेत नभएको शहर छ भन्दा पत्यार गर्न गाह्रो लाग्छ ! आम मान्छेले नेपालकै पुरानो काठमाडौँ महानगरपालिका लोभलाग्दो साधन श्रोत र साँस्कृतिक धरोहरहरु रहेको स्वीकार गर्छन् । धेरै हदसम्म त्यो सत्य पनि हो ।

तर आज बिहान नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई काठमाडौँ महानगरपालिका वडा नं. ८ मा पर्ने १७ घर निर्माण भईसकेको र अन्य केहि घरहरु निर्माणाधीन अवस्थामा रहेको गुहेश्वरी फाँट (पन्चकन्या टोल)मा स्वकिय सचिव पुष्प भट्टराई र स्थानीय तारानिधि पोखरेलको पहलमा राजन भट्टराई पुगे, स्थानीयका कुराहरु सुने, उपस्थित सबैलाई उनीहरुकै भाषामा  काठमाडौँ महानगरपालिका भित्रको कर्णाली जस्तै भएको आभास भयो ।

मुलुकका निकै दुर्गम भू–भागमा समेत बिजुली बत्ति, खानेपानी र सडक पुगेको देखिन्छ तर पशुपति मन्दिरबाट हिडेर ७ मिनेटको दुरीमा पुग्ने क्षेत्रका नागरिकहरु राज्यले दिने न्यूनतम सेवासुविधाबाट समेत बन्चित भएको देखियो ।

कामपा ८ पन्चकन्या टोलका स्थानीयसँग डा. राजन भट्टराईले प्रतिवद्धता जनाउँदै गरेको भिडियो :

राज्यले घर बनाउँन अनुमति दिने, बत्ति र पानी जस्ता आधारभूत आवश्यकताहरु पुरा गर्न अनेकौं प्रयास गर्दा समेत नदिने ? स्थानीय गुहेश्वरी पन्चकन्या टोल सुधार समाजका अध्यक्ष सुरेश कुमार महत्तोले भने, “काठमाण्डौ महानगरपालिकामा बसेर समेत गाउँपालिकाको सेवा सुविधा पाएका छैनौँ । बिजुलीका पोल समेत छैनन् त्यसको लागि आवश्यक पहल गरिदिनुपर्यो ।”

स्थानीय जनता मिलेर ४ फिटको बाटोलाई १३ फिट बनाउन सफल नारायण मार्ग उपभोक्ता समितिका अध्यक्ष हरि पाण्डेले भने, “१३ फिट ट्रयाक खोलेको बाटोलाई ढलको व्यबस्था गराई पिच गर्ने वातावरण बनाईदिनु पर्यो । महानगरपालिका भएपनि हाम्रोमा मेलम्ची खानेपानी नआउने भएकोले आउने व्यवस्था गरिदिनु पर्यो । खानेपानीको लागि डीप बोरिङ्गको व्यवस्था गरी पानीको समस्या समाधान गराईदिनु पर्यो ।”

सामाजिक अभियन्ता आशा पाण्डेले कार्यक्रम संचालनकै क्रममा सिभिल बैंकले लिलामी गरेको जग्गामा अवैध रुपमा संचालन भएको खानेपानीको निर्यातमुखी डीप बोरिङ्गले स्थानीय घरहरु चर्किएको, पानीको सतह घटेको, रातीको समयमा सयौँ खानेपानीको गाडीहरु आवतजावत हुँदा हल्लाले बच्चाहरुलाई सुत्न गाह्रो भएको र दैनिक सयौँ ट्यांकर पानी ओसारपसार गर्दा बाटो समेत खाल्डा खुल्डी समेत हुनेभएकोले तत्काल अवैध खानेपानीको बोरिङ्ग बन्द गराईदिन अनुरोध गरिन् ।

छलफलको क्रममा स्थानीय युवाहरुले वडा नं. ८ र ७ जोड्ने बागमती नदीमा पक्की पुलको व्यवस्था गराई दिन समेत माग गरेका थिए । आफ्नो विचार राख्ने क्रममा डा. भट्टराईले भने, “नक्सा पास गरी घर बनाउन अनुमति दिएपछि महानागरपालिकाले बत्ति, ढल र बाटो जस्ता आधारभूत आवश्यकताको परिपूर्ति गर्नुपर्छ । आजैका मितिबाट ढल र बाटोको लागि तपाईहरु वडा कार्यालय मार्फत महानगरपालिकामा पहल गर्नुस् । तपाईहरुको फाईल महानगरपालिका पुगेपछि म आवश्यक बजेटको प्रबन्ध गर्न लगाई सकेसम्म यहि आर्थिक वर्षमा नभएपनि आगामी वर्षको बजेटमा पुल, ढल र खानेपानीको लागि बजेट विनियोजन गराउन लगाउँछु । बिजुलीको लागि टिका पराजुली मार्फत आवश्यक पहल गर्नुस् त्यो कामलाई तत्काल अगाडि बढाउन सकिन्छ ।”

गुहेश्वरीको जङ्गल हुँदै तिलगंगा जोड्ने बाटो खोल्ने कुरामा भने डा. भट्टराईले पुरातत्व विभागसँग कुरा गरेर मात्र केहि भन्न सकिने बताए । स्थानीय स्तरमा हिजोको समयमा खाली जग्गा हुँदा संचालन गरेको निर्यातमुखी खानेपानीको बोरिङ्गबारे आफूले बुझेर बताउने भन्दै यदि स्थानीय जनतालाई क्षति पुर्याएको छ भने त्यो बन्द गरिनुपर्छ । त्यसको लागि पनि मैले गर्ने सहयोग गर्नेछु ।”

डा. राजन भट्टराईले बोली अनुसार काम गरिदिनु भयो भने, “२०६८ सालदेखि बन्द गर्न पहल गर्दा समेत नसकिएको अवैध खानेपानीको डीप बोरिङ्ग बन्द केहि हप्तामा नै हुनेछ । यहि आर्थिक वर्षभित्र स्थानीयले भोगिरहेको बिजुली र ढलको समस्या समेत  समाधान हुनेछ । आगामी आर्थिक वर्ष भित्र बागमतीमा पुल र स्थानीय खानेपानीको लागि समेत उचित व्यवस्था हुनेछ । त्यसो हुन सक्यो भने डा. राजन भट्टराई स्थानीय जनताका लागि भगवान समान हुनुहुनेछ” सामाजिक अभियन्ता आशा पाण्डेले छलफलको क्रममा परिवर्तन खबरलाई बताईन् ।

प्रतिक्रिया दिनुहोस्