
०१ चैत २०७५, इटहरी
इटहरीलाई अन्य पूर्वाधारमा जस्तै अपराधमा समेत तीव्र विकास भइरहेको सहरका रूपमा लिने गरिन्छ । १ वर्षको सुरक्षा नेतृत्व सम्हाल्न इटहरी आएका प्रहरी नायव उपरीक्षक समीर चन्द्र खरेलले पहिलो पटक सार्वजनिक रूपमा बोल्दै गुण्डागर्दी नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
अपराध नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नु प्रहरीको मुख्य दायित्व भएकोले ऐन तथा नियमलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै गुण्डागर्दी नियन्त्रणमा प्राथमिकता दिने खरेलले बताएका हुन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खरेलले इटहरीमा फरार अपराधीहरूको डाटा अपडेट गरेर उनीहरूमाथि निगरानी बढाउँदै कारबाही गरिने बताए । मावन बेचबिखन र यौन व्यवसाय नियन्त्रणलाई समेत प्राथमिकतामा राखेर काम गर्ने खरेलको भनाइ छ ।
प्रतिबन्धित लागु औषध नियन्त्रण, फरार अभियुक्त पक्राउको लागि सबैसँग मिलेर काम गने खरेलको भनाइ छ । खरेलले समुदाय सँग प्रहरी कार्यक्रम मार्फत समुदायमा सचेतनात्मक कार्यक्रमहरूलाई तीव्रता दिने योजना रहेको जानकारी दिएका हुन । शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष योजनाका साथ प्रहरीले प्रविधिहरूको प्रयोग गरी आपराधिक घटना न्यूनिकरण गर्ने खरेलले बताए ।





