
३० फाल्गुन २०७५, काठमाडौँ
विश्वका सबैभन्दा अग्ला पुरुष र सबैभन्दा होची महिलाबीच भेटघाट भएको छ । अनि उनीहरुको भेटघाटका क्रममा भएको फोटोसुट दुनियाँकै लागि अविष्मरणीय बनेको छ ।

दुनियाँकै अग्ला व्यक्तिको रुपमा गिनिज बुकमा दर्ज भएका टर्कीका सुल्तान कोसेन र विश्वकै होची महिलाको रुपमा रहेकी भारतकी ज्योति अम्गेबीच इजिप्टमा भेट भयो । सुल्तान कोसेनको उचाई ८ फिट १ इन्च छ भने ज्योतिको उचाई २ फिट अग्लो छ ।

इजिप्टको पर्यटन प्रबर्दन बोर्डको निम्तामा यो जोडी इजिप्ट पुगेको थियो । त्यसक्रममा उनीहरुले गिजाको पिरामिडमा पुगी गज्जबको फोटोसुट गरे ।
इजिप्ट भ्रमणका क्रममा उनीहरु कायरोका लोकप्रिय ठाउँहरुको भ्रमण गरे भने एक होटेलमा भएको सम्मेलनका क्रममा सम्वाद पनि गरे ।
सन् २०११ मा दुवैजनाले विश्व रेकर्ड कायम गरेका थिए, जुन अहिलेसम्म तोडिएको छैन ।
स्मरण रहोस, कोसेनले सन् २०१४ मा विश्वका सबैभन्दा होचा व्यक्ति नेपालका चन्द्रबहादुर डाँगीसँग लण्डनमा भेटघाट गरेका थिए । डाँगीको मृत्यु भैसकेको छ ।





