जहाँ : रातारात बने ३० अर्बको मालिक



३० फाल्गुन २०७५, काठमाडौँ

अमेरिकाको न्युजर्सीमा एकजना बेरोजगार युवकले आफूलाई भाग्यचिठ्ठा पर्ने आशामा चिठ्ठा पर्ने टिकट खरीद गरे । तर नतिजा निस्किनु अगाडि नै उनले किनेको टिकट हराए । आखिर मानिसको भाग्यमा भएपछि चाल्नोमा दूध दुहेर पनि अड्छ भन्ने उखानलाई चरितार्थ गर्दै ती बेरोजगार युवकलाई चिठ्ठा परेर रातारात अर्बपति बने ।

उनले हराएको त्यो टिकट एकजना अन्जान मानिसले फेला पारेर उनलाई दिएका रहेछन् । सोही भाग्यचिठ्ठा परेपछि उनले २७ करोड ३० लाख डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँ जिते । ती युवकको नाम माइकल जे विर्यस्की हो ।

विर्यस्कीका अनुसार उनले लटरी खुल्ने अघिल्लो दिन नै दुईवटा टिकट खरीद गरेका थिए । तर टिकट खरीद गरेकै पसलमा उनले ती टिकट खसालेछन् । उनले यताउता टिकट खोजे तर भेटेनन् । अर्को दिन उनी पुनः त्यो पसलमा गएर काउन्टरमा आफ्नो हराएको टिकट कतै भेटियो कि भनेर सोधे तर संयोगवश कुनै एकजना मानिसले ती टिकट भेट्टाएर काउन्टरमा दिएका रहेछन् । काउन्टरका कर्मचारीले ती टिकट फिर्ता दिँदा विर्यस्की गदगद भए ।

उनले ती टिकट फिर्ता ल्याएर गोजीमा राखेका थिए । दुई दिन बितिसकेको थियो । उनकी आमाले चिट्ठाका बारेमा के भयो ? भनेर सोधेपछि उनी झसँग भए । जब उनले मोबाइलमा उक्त चिठ्ठाको एप हेरे तब उनी झण्डै मुर्छा परेनन् । उनलाई त ३० अर्ब रुपैयाँ बराबरको चिठ्ठा परेको थियो ।

विर्यस्कीका अनुसार उनी पछिल्लो १५ वर्षदेखि बेरोजगार थिए । उनको अनौठो बानी भनेको चिट्ठा खरीद गर्ने रहेछ । उनले हरेक हप्ता चिठ्ठा किन्नका लागि २० डलर खर्च गर्ने रहेछन् ।

उनको गत वर्ष पत्नीसँग डिभोर्स भएको थियो । अन्ततः उनको भाग्य चम्कियो । अब उनले चिठ्ठामा परेको अर्बौँ रुपैयाँले आफ्नो नयाँ जिवन सुरु गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्