पाँचौं साफ महिला च्याम्पियनसिप बंगलादेश र भुटानबीच हुँदै



३० फाल्गुन २०७५, काठमाडौं

विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिपअन्तर्गत बिहीबार बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

यसअघि आयोजक टिम नेपालसँग फराकिलो गोल अन्तरले पराजित भुटान आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग आमनेसामने भएको छ । भुटान ९ वर्षे साफको इतिहासमा पहिलो जितको खोजीमा हुनेछ ।

‘ड्रागन गर्ल्स’को उपमाले परिचित भुटानी टोलीले सन् २०१० यता बंगलादेशसँग तीन पटकको सामना गर्दै तीनै पटक पराजित भएको छ । पहिलो साफअघिको मैत्रीपूर्ण खेलमा ७-० ले पराजित बनेको भुटानी टोली साफको पहिलो संस्करणमा ९-० ले पराजित बन्यो ।

यता बंगलादेशी टिम साफको गत संस्करणको उपविजेता र दुई संस्करणको सेमिफाइनलिष्ट टिम समेत हो । साफको कुल १५ खेलमा सात जित, एक बराबरी र सात खेलमा पराजित बनेको टोली भुटानविरुद्धको खेलमा स्पष्ट जित निकाल्दै सेमिफाइनल पुग्ने रणनीतिमा हुनेछ ।

भुटानविरुद्ध बंगलादेशले फराकिलो जित निकालेको खण्डमा नेपाली टोलीलाई चुनौती थपिनेछ । सन २०१६ को चौथो साफको समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशले भारतलाई बराबरीमा रोक्दा त्यसको घाटा नेपाललाई भएको थियो ।

गोल अन्तरले दोस्रो भएको भारतले सेमिफाइनलमा समूह ‘ए’ बाट बिजेता बनेको नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा बंगलादेशलाई समान ३-१ गोल अन्तरले नै हराएर लगातार चौथो उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्