
२८ फाल्गुन २०७५, काठमाडौँ
परम्पराको नाममा अहिले पनि दुनियाँमा अनेकथरि कार्य हुन्छन् । त्यसमध्ये चीनको घोस्ट म्यारिज अर्थात् भूत विवाह पनि एक हो ।
चीनका केही ग्रामीण भागमा अहिलेपनि ३ हजार वर्ष पूरानो यो परम्परा चल्दै आएको छ ।
भूत विवाह सुन्दैमा अनौठो लाग्दछ । अझ यो विवाहका पछाडिको कारण चाहीँ झनै डरलाग्दो छ । चीनको साङ्सी प्रान्तमा भूत विवाहको चलन रहेको छ ।
मृत्यु भएको अविवाहित पुरुषलाई एक्लै अन्त्येष्टि गरिँदैन । मृतक पुरुषका लागि ऊ जस्तै अविवाहित कुनै मृतक महिलाको खोजी गरिन्छ ।
जब अविवाहित मृतक महिलाको लास फेला पर्दछ, तब ती शवहरुबीच बिहे गराइन्छ र दुबै शवलाई सँगै गाडिन्छ । यो परम्परालाई भूत विवाहको नामले चिनिन्छ ।
यो परम्पराका पछाडि मृतक अविवाहित पुरुषको आत्माले शान्ति पाओस् र उसलाई एक्लोपन महसूस नहोस् भन्ने कामना गरिएको हुन्छ ।
यद्यपि अहिलेको समयमा अविवाहित मृतकको बिहेका लागि अविवाहित मृतक महिलाको शव फेला पार्न निकै कठिनाई पर्ने गरेको छ ।
त्यसैले अवैध रुपमा महिलाका लास खरीद बिक्री गर्ने धन्दा पनि निकै मौलाएको छ ।
यद्यपि, यो परम्परालाई सरकारले गैरकानूनी घोषित गरिसकेको छ, तर पनि चिनियाँहरु लुकिछिपी यो परम्पराको पालना गरिरहेका छन् ।
सन् २०१४ मा पूर्वी चीनमा प्रहरीले भूत विवाहमा संलग्न भएको भन्दै ११ जना मानिसलाई गिरफ्तार पनि गरेको थियो ।
ती मानिसहरुले चिहानबाट महिलाका लासहरु खोतलेर चोर्ने र महंगो मूल्यमा मृतक अविवाहित पुरुषका परिवारजनलाई बेच्ने गर्दथे ।
यस्तै मृतक पुरुषसँग बिहे गर्नका लागि महिलाको हत्या समेत गरिएका केही घटना समेत बाहिर आएका थिए ।





