साँढेलाई कुटपिट गरेको आरोपमा १ जना पक्राउ !



२८ फाल्गुन २०७५, काठमाडौँ

साँढेलाई कुटपिट गरेर अंगभंग बनाएको आरोपमा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले एकडारा गाउँपालिका ५ मा बस्ने इन्दल महरा चमारलाई पक्राउ गरेको हो । साँढेका ३ वटा खुट्टामा धारिलो हतियारले काटेर घाइते बनाएकाले इन्दललाई पक्राउ गरेको डीएसपी खगेन्द्रले बताए ।

आफ्नो घरमा पालिएका गाईबस्तुको दान र घाँस खाइदिएको रिसमा उनले केही दिनअघि चमारले साँढेका खुट्टा काटिदिएका थिए । पक्राउ परेका चमारलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिन म्याद लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

डीएसपी खड्काले अनुसन्धान सकिएलगत्तै इन्दलविरुद्ध मुद्दा दायर गर्ने बताए । उनलाई ६ महिना कैद ५० हजार जरीवाना हुनसक्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीको मुद्दा शाखाले जनाएको छ ।

जनावर कुटपिटको घटनामा कुनै व्यक्तिलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको महोत्तरीमा पहिलोपटक हो । हिन्दू धर्मावलम्बीले साँढेलाई भगवान शिवको बाहन मानेर पुज्ने गर्दछन् ।

यसअघि कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उप–महानगरपालिका २१ बिर्ताका अकबाल खाँलाई बाँके प्रहरीले पक्रेर हिरासतमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्