
२६ फागुन २०७५, इटहरी
कलाकार गौरव पहाडीले ‘सुन साईली….’ बोलको गीतमा धेरै दर्शकले रोएको प्रतिक्रिया दिँदा आफ्नो मेहनत खेर नगएको महशुस गरेको बताएका छन् । ‘सुन साईली….’ बोलको गीतकै कथालाई उतारिएको भनिएको चलचित्र ‘साईली’को प्रमोशनका लागि इटहरी आएका पहाडीले भिडियो उत्पादनमा दर्शकको जुन प्रतिक्रिया पाउन गरिएको थियो त्यही पाएको बताएका हुन् ।
‘‘सुन साईली….’ गीत हेरेपछि धेरै दर्शकले आफू रोएको प्रतिक्रिया दिनु भयो गीतको भाव र अभिनय त्यसैका लागि थियो, आफू सफल भएको महशुस भयो ।’ पहाडीले भने, ‘चलचित्र ‘साईली’ मा पनि त्यस्तै मेहनत गरेका छौ ।’
राम बाबु गुरुङको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको छ । चैत्र १५ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्रको साईली टिम यति बेला पूर्व आइपुगेका छन् । प्रचार–प्रसार व्यापक बनाउन चलचित्रका तर्फबाट निर्माता तथा नायक गौरव पहाडी, नायिका मेनुका प्रधान र अभिनेता दयाहाङ राई, किनिपा सिंह पुर्बमा छन् ।
गायक हेमन्त राणाको चर्चित गीत सुन साईली नामलाई सापटी लिई यो चलचित्र निर्माण भएको चलचित्र निर्माण पक्षले जनाएका छन् । साईली गीतमा गौरव र मेनुका नै फिचर थिए भने चलचित्रमा यही जोडी नै मुख्य भूमिकामा रहेका छन् । गीतले वैदेशिक रोजगारीमा गएको श्रीमान् र गाउँमा श्रीमानको प्रतिक्षा गरेर दिन काटिरहेकी श्रीमती बिचको प्रेममा बुनिएको थियो भने सोही गीतको मर्मलाई नै चलचित्रको मुख्य पाटो बनाइएको छ ।
तर चलचित्रमा भने श्रीमान् वैदेशिक रोजगारीमा जानु अघिको कथालाई उठान गरिएको छ । यसलाई गायक हेमन्त राणा र अभिनेता गौरव पहाडीले मिलेर निर्माण गरेका हुन । माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्की लगायतका कलाकारहरूले पनि अभिनय गरेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राणा मगर निर्माता रहेका छन् ।





