
२६ फागुन २०७५, इटहरी
निखारिएको सारङ्गीको धुन अनि मिठो स्वरमा अरुणा लामाको ‘ए कान्छा मलाई सुनको तारा खसाई देउ न, त्यो तारा मात्र हैन जुन पनि झारी दिउला’ अक्सर इटहरीका सडकका किनारमा यो गीत र शैली सुन्नु नौलो कुरा हैन । केही गाईनेले अगाडि एउटा रुमाल फिजाएर यसरी गित गुनगुनाई रहेका हुन्छन् ।
‘आकाशैमा चिल हो कि बेसार, एक दिन माया लाई देउन के छ र’, ‘धन बिनाको मन ठुलो कि मन बिनाको धन’ यस्ता गीत भोजपुरका सुवास गन्दर्भ र धनकुटाका कृष्ण गन्दर्भको स्वरमा सधैँ सडकमा सुनिएपनि शनिवार भने उनीहरूको गीतको माहोल इटहरी स्थित गोरखा किचनको स्टेजमा भेटियो ।
निखारिएको सारङ्गी रेटाई र आकर्षक स्वरले प्रदेश १ ड्राईभिङ स्कुल सङ्घ नेपालको प्रथम सम्मेलनमा प्रदेश नं १ कानुन मस्यौदा समिति संयोजक रेवतिरवण भण्डारी (प्रमुख अतिथि) समयमा नआउँदा कोलाहलमय बनेको माहोलनै शान्त बनायो ।
उक्त स्टेजमा सारङ्गीले उपस्थितको ध्यान तान्दा, प्राय इटहरी, धरान भेडेटारका सडक किनारमा सारङ्गी रेट्ने गन्दर्भद्वयलाई धेरै हर्ष लाग्यो । पढाईका कारणले गीत रचेर गाउन नसकेपनि अरूले गीत दिए यसरी नै गाउने रहर भएको कृष्णले बताए । ‘धेरै धेरै खुसी लागेको छ । उनले भने, सडकमा बसेर सारङ्गी रेटेर गीत गाउनेले यस्तो स्टेज पाउदा हर्कवढाई भईराखेको छ ।’ ‘घरमा दुख छ, यसरी गाउनु पर्छ पहिला त छिःछि गर्थे मान्छेले पनि, पाए त गित रेकर्ड गर्न मन छ ।’
कार्यक्रममा प्रमुख अतिथि नआउँदाको संयोगले जुराएको त्यो स्टेज गन्र्दभद्वय र उपस्थितका लागि नौलो र आकर्षक बन्यो । तर मोफसलका सडकमा धेरै नै प्रतिभा स्टेजको खोजीमा र दर्शक मौलिक गायकी र सङ्गीतको खोजीमा रहेका छन् । नेपालको अर्गा्निक बाजा मानिने सारङ्गीको धुनले जो काहिलाई पनि मोहित बनाउँछ तर समयको परिवर्तन र डिजिटल बाजाले स्थान लिँदै जाँदा सारङ्गीले स्टेज पाउन छाडी सकेका छन् । सडकमा नै रेटिने सारङ्गी बाधकलाई नेपाली समाजमा तल्लो स्तरको ब्यहवार गर्दा यो बाजाको अस्तीत्व नै खतरामा छ ।
प्रमुख अतिथिको कार्यक्रममा भएको ढिलाइले अवसर जुरेपनि यस्ता कर्मले सारङ्गीको विकासमा भने सहयोग गर्ने उद्योग वाणिज्य सङ्घ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश बिष्टले बताए । ‘प्रमुख अतिथिको समयले गर्दा भेला भएका सम्पूर्ण अतिथिहरूको लागी उहाँहरूले नौलो प्रस्तुति प्रस्तुत गर्नुभएको छ । उनले भने, प्रमुख अतिथि बस्ने सोफामै राखेर सारङ्गीको धुन प्रस्तुत गराउँदा नेपालकै अर्गा्निक धुनको प्रोत्साहन गरेको छ ।’
हरेक कुरामा राज्यको हात महत्त्वपूर्ण रहन्छ । राज्यले मौलिकताका विषयमा सामान्य नीति निर्माण गर्दै जाने हो भने मौलिकता अवश्य बच्छ । उता व्यवसाय गरेर बसेका व्यवसायीसँग समेत समाज र संस्कृति जर्गेनाको कर्तव्य हुन्छ ।
त्यसो त सहरी क्षेत्रमा दैनिक जसो हुने औपचारिक कार्यक्रममा उनीहरूलाई स्थान दिँदा पनि यसको प्रवर्धन हुने व्यवसायी बाबुराम प्रधानको भनाई छ । ‘राज्यले गरेन भनेर दोष दिएर पनि भएन र राज्यले गर्छ भन्ने आसमा मात्र बसेर पनि हुँदैन ।’ उनले भने, ‘यसरी नै हामीले यस्ता प्रतिभालाई माया स्वरूप अवसर दिनु पर्छ र विभिन्न महोत्सवमा स्थान दिइदा मौलिक परम्परा पनि बच्छ ।’
नेपालमा गायकीको खोजी भन्दै धेरै लेपालि ‘रियालिटी सो’ र ‘फ्रेन्चाइज रियालिटी सो’ ले प्रवेश पाई सकेका छन् । तर मोफसलका ती प्रतिभा प्रतियोगितासम्म र प्रतियोगिता प्रतिभासम्म पुग्न भने सकिरहेका छैनन् । पछिल्लो समयमा गाइनेले गाउने गीति खबर, असारमा हिलो सँग खेल्दै गाइने पूर्वका असारे गीतको उत्पादन प्रायः शून्य छ । आधुनिकता सँगै संस्कृतिमा गरिब बन्दै गएका नेपालीले यस्ता प्रतिभालाई सामान्य स्थान दिने हो भने पनि संस्कृति र मौलिकता दुर्घटनाबाट बच्ने निश्चित देखिन्छ ।





