
२६ फागुन २०७५, काठमाडौँ
हामीकहाँ गाईलाई घाँस, पराल तथा अन्नपानी खुवाइन्छ । तर अमेरिका तथा युरोपका कैयौँ देशमा गाईलाई खुवाइने दानामा गाई, सुँगुर तथा भेँडाको मासुका साथै रगत पनि मिसाइएको हुन्छ । गाईलाई खुवाइने त्यस्तो दानालाई ब्लड मिल पनि भनिन्छ ।
अमेरिका चाहन्छ कि भारतले अमेरिकाबाट धेरैभन्दा धेरै दुधजन्य उत्पादन खरीद गरोस् । तर धार्मिक तथा सांस्कृतिक कारणले गर्दा भारतले अमेरिकाको त्यो चाहना पूरा गर्न चाहँदैन ।
वास्तवमा मासु खाएका गाईको दूधबाट बनेका कुनै पनि चिजहरु आफ्नो देशमा आयात तथा प्रयोग गर्न नसक्ने भारतको भनाइ छ ।
मासु खाने गाईका दुधजन्य उत्पादन खरीद नगरेकै कारण अमेरिकाले हालै भारत विरुद्ध कडा कदम चालेको छ । राष्ट्रपति ट्रम्पले भारतलाई व्यापारमा सहुलियत दिने मुलुकको सूचीबाट हटाएका छन् ।
भारतको वाणिज्य मन्त्रालयले ब्लड मिल खाएका गाईको दूधबाट बनेका चिजहरु खरीद गर्न नसकिने कुरा अमेरिकासँग प्रष्ट रुपमा राखेको जनाएको छ । अमेरिकाले भारतमा बेच्ने दुधजन्य पदार्थहरु ब्लड मिल नखुवाइएका गाईवस्तुबाट उत्पादन गरिएको कुराको प्रमाणित कागजात पेश गर्नुपर्ने शर्त भारतले राखेको छ । सांस्कृतिक तथा धार्मिक मान्यता र संवेदनशीलताका कारण यसो गरिएको र यस विषयमा कुनै सम्झौताको गुञ्जायस नरहेको उसको भनाइ छ ।
वधशालामा मासुका लागि काटिने गाईवस्तुको मानिसले नखाने खालको मासु र हड्डीका टुक्राहरु पिँधेर त्यसमा रगत घोलिसकेपछि त्यसलाई उच्च तापक्रममा सुकाएर विशेष खालको दाना तयार गरिन्छ ।
त्यस्तो दाना लाइसिन नामक एमिनो एसिडको राम्रो स्रोत हो । गाईको दूधमा पर्याप्त प्रोटिन हुनका लागि गाईलाई खुवाउने दानामा उक्त एमिनो एसिड अनिवार्य हुन्छ ।





