
२४ फागुन २०७५, काठमाडौँ
गत साता संसद बैठकमा नेकपा सांसद विरोध खतिवडाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने तर्क राखेसँगै यसबारे बहस सुरू भएको छ । गाँजा लागुपदार्थ नभएर बहुउपयोगी प्राकृतिक स्रोत भएकाले प्रतिबन्ध फुकुवा गरे हामीलाई धेरै आर्थिक लाभ हुनेछ । विश्वका सम्पन्न मुलुकले यो प्रमाणित पनि गरिसकेका छन् ।
गाँजाको औषधिजन्य गुणबाहेक अन्य सम्भावना खोजी गर्ने क्रममा सिन्धुपाल्चोकको हेलम्बुमा गाँजाको बोट (हेम्प) बाट घरै बन्दै गरेको देखियो । हेलम्बु गाँउपालिका–२, शेर्माथानका गोपाल शेर्पाले गाँजाको डाँठ प्रयोग गरेर घर बनाइरहेका छन् । पर्यटकीय स्थल शेर्माथानमा पर्यटकलाई होमस्टे सुविधा दिने गरी घर बनाइएको गोपालले बताए ।
गोपालका अनुसार घर चार तल्लाको हुनेछ । शौचालय र बाथरुमबाहेक २२ कोठा हुनेछन् । यो घरको पिलर, बिम, ढलान र भर्याङ भने आरसिसि (कंक्रिट) मोडलबाट बनाइएको छ । घरमा १२ इन्चको मात्र पर्खाल राख्न मिल्ने ठाउँ भएकाले गोपालले घरको पार्टेसन र शौचालय भने सिमेन्ट ब्लकको बनाएका छन् ।
घरको बाहिरी पर्खालमा गाँजाका डाँठ प्रयोग गरिएको छ । गाँजाको डाँठमा चुनाको घोल बनाई फर्मा बनाएर शेरवाल लगाए जसरी उक्त पर्खाल लगाइएको छ । गोपालका अनुसार घर निर्माणमा आवश्यक १२ टन गाँजाका डाँठ बझाङबाट ल्याइएको हो ।
बझाङमा उत्पादन भएको गाँजाको बोटबाट गाँउपालिकको रोहवरमा लागुपदार्थजन्य मानिने सामग्री हटाएर त्यहीँ नष्ट गरिएको थियो । गाँउपालिकाले लागुपदार्थ नभएको किटानी दिएपछि सोही सिफारिसका आधारमा जनकपुरमा ल्याएर सो डाँठलाई मेसिनको सहायताबाट टुक्रा गरिएको थियो ।
एक इन्चभन्दा सानो टुक्रा गरिएको सो डाँठ १२ चक्के ट्रकमा सिन्धुपाल्चोकको मेलम्चीसम्म ल्याएको गोपालले बताए । तौल कम भए पनि आयतन बढी भएकाले एकपटकमा तीन टन डाँठका टुक्रामात्रै मेलम्ची आइपुगेको थियो ।
मेलम्चीबाट चार चक्के ट्रकबाट शेर्माथानसम्म ढुवानी गरिएको थियो । खरिदभन्दा ढुवानीमा बढी लागत तिर्नुपरेको गोपालले जानकारी दिएका छन् ।
गाँजाको डाँठका टुक्रामा घोल्ने १६ टन चुना भने भारतबाट ल्याइएको हो । नेपालमा पाइने चुनामा मिसावट भएको फेला परेपछि त्यसबाट सोचे जस्तो फाइदा नहुने भएको र भारतबाट राम्रो चुना झिकाइएको उनले बताए ।
नेपालका अधिकांश ठाउँमा गाँजा आफैं उम्रिन्छ । यसको भरपूर उपयोग गर्न सके कम लागतमै आवास निर्माण गर्न सकिने गोपालको धारणा छ । चैत वैसाख गाँजा खेती गर्ने उपयुक्त समय हो । बढीमा सात महिनामै यो प्रयोग गर्न सकिने गरी उत्पादन हुन्छ । एक रोपनी जग्गामा गाँजा खेती गर्ने हो भने त्यसबाट लागुपदार्थजन्य मानिएका सामग्री हटाएर एउटा घर बनाउन आवश्यक डाँठ उत्पादन हुन्छ ।
सस्तो र टिकाउ हुनुका साथै यस्तो घर कार्बन न्यूनिकरणमा पनि सहयोगी हुने गोपालको दाबी छ । गाँजाका बोटले वातावरणमा भएको कार्बन सोसेर जमिनमा फ्याँक्ने हुनाले यसले कार्बन घटाउने उनले बताए ।
यो घरको अर्को विशेषता, यसले ’इन्सुलेसन’को काम समेत गर्छ । उनका अनुसार बाहिर हिँउ परिरहने ठाँउमा समेत यो घरभित्र सामान्य कपडा लगाएर बस्न सकिन्छ । चिसो हुँदैन, एक त यस्ता घर बाक्लो भित्ता हुनेगरी बनाइएको हुन्छ ।
अर्को यो आफैं न्यानो हुन्छ । त्यसकारण दम, वाथजस्ता रोग लागेका मान्छेलाई यो घर उपयुक्त हुने उनी बताउँछन् ।
गाँजाबाट बनेको घरमा कुनै रासायनिक पदार्थ नहुने भएकोले यो ज्यादै उपयोगी हुने गोपालको भनाइ छ ।





