बिहारी मुसाको ‘हाइ प्रोफाइल’ चोरी क्यामरामा कैद



२४ फागुन २०७५, काठमाडौँ

तपाइँ हामी सबैजनाले सायद आफ्नो घरमा मुसाको बदमासी बेहोरेकै हुन्छौँ । मुसाले गर्ने बदमासी तथा पूराउने क्षतिका बारेमा हामी भलभाँती जानकार नै छौँ । हालै एउटा मुसाले गरेको यस्तो हाइप्रोफाइल चोरीको घटना सार्वजनिक भएको छ, त्यसले सबैलाई आश्चर्यमा पार्दछ ।

घटना भारतको बिहारमा भएको हो । पुलिस चौकीमा थन्काएका लाखौँ मूल्यका रक्सी सिध्याउने तथा बाँधमा प्वाल पार्ने कामका लागि बिहारका मुसा चर्चित छन् ।

यस्ता किर्तिमानी बिहारी मुसाले हालै लाखौँ रुपैयाँ पर्ने हिराका टप्स चोरेर अर्को किर्तिमान कायम गरेको छ । । गहना पसलबाट एकाएक महिलाले कानमा लगाउने हिराका दुईवटा टप हराए । पसलबाट हिराका गहना हराएपछि पसले तनावमा परे । पसलमा चोर पसेको कुनै संकेत थिएन, तर गहना कसले चोर्यो ?

उनले पसलको सिसिटीभी क्यामरामा कैद भएको दृश्य कम्प्युटरमा हेर्नथाले । सिसिटीभी क्यामराका फुटेज हेर्दैजाँदा उनी झण्डै बेहोस भए । किनकी सिसिटीभी क्यामरामा हिराका टप चोर्ने अनौठो चोर कैद भएको थियो । भिडियोबाट पुष्टि भयो कि हिराको टप चोर्ने चोर मानिस होइन, एउटा मुसा पो रहेछ ।

उक्त चोर मुसा विस्तारै पसलको काउन्टरमा आउँछ र प्लास्टिकमा प्याक गरेर राखिएको हिराका एक जोडी टप मुखमा चेँपेर दौडिन्छ ।
मुसाले चोरेर लगेका हिराका टप अझै फेला परेका छैनन् । न त चोर मुसा नै पक्राउ परेको छ ।

प्रतिक्रिया दिनुहोस्