
२४ फागुन काठमाडौँ
महको उत्पादन र गुणस्तर वृद्धि गर्न चितवनका मौरीपालक किसानहरुलाई तालीम दिइएको छ । व्यवसायिक रुपमा गुणस्तरीय मह उत्पादन गर्न मह उत्पादन प्रशोधन प्रविधि प्रदर्शन तथा स्थलगत ३ दिने तालिम प्रदान गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई (मौरी जोन) चितवनले आयोजना गरेको सो तालीममा २१ जना मौरीपालक किसानको सहभागिता रहेको थियो । पछिल्लो समय महको गुणस्तरमा गुनासो आएपछि किसानलाई तालीम दिनुपरेको मौरी जोन इकाई कार्यालयका प्रमुख मेघनाथ तिमल्सीनाले बताए ।
चितवन महका लागि मुलुकमै अग्रणी छ, प्रमुख तिमल्सेनाले भने, तर पनि यहाँको महमा पछिल्लो समय गुणस्तरमा केही समस्या आएपछि मह उत्पादनमा संलग्न किसानलाई प्रशिक्षित गराई गुणस्तर वृद्धि र किसान अब्बल बनाउन तालिम दिइएको हो ।
तालिममा मौरी विज्ञ प्रोफेसर डा. खेमराज न्यौपाने र नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष धुव्रतारा लामिछानेले सहजीकरण गरेका थिए । तालिममा गुणस्रीय मह उत्पादनको अवसर, चुनौती, मह प्रशोधन, लेबलिङ्ग, प्याकेजिङ्गलाई मुख्य आधार मानेर प्रशिक्षण दिइएको थियो ।
तालिममा सहभगीहरुले तालीम व्यावहारिक भएकाले आफुहरुले धेरै कुरा सिकेको बताए ।
खैरहनी ४ की मनु गुरुङ्गले आफुहरुले महको प्रशोधन घरायसी विधि भन्दा व्यवसायिक रुपमा गरे धेरै आम्दानीसगैँ आफ्नै व्राण्ड बनाउन सक्ने भएको बताइन् ।
यस्तै, कालिका नगरपालिमा व्यावसायिक मौरीपालन गर्दै आएका विकास नेपालले पनि मह उत्पादन गरे पनि प्रशोधन गर्दा सामान्य कुरामा ख्याल नगर्दा ठुलो घाटा व्यहोरीरहेको बताए ।
उनले आगामि दिनमा महको गुणस्तर वृद्धि तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाएका थिए । तालिमको अवसरमा चेपाङ्ग सुमदायहरुले सञ्चालक गरेको जनचेतना साना किसान कृषि सहकारी अन्र्तगत सञ्चालित मह संकलन तथा प्रशोधन केन्द्रको अवलोकन पनि गरिएको थियो ।
तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको प्राविधिक सहयोग थियो । मह उत्पादनको राजधनीका रुपमा परिचित चितवनमा बार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको जनाइएको छ ।
जिल्लामा २० हजार घारमार्फत किसानहरु मौरी पालनमा सहभागी हुँदै आएका छन् ।





