
२४ फागुन २०७५, इटहरी
भनिन्छ ‘दशा बाजा बजाएर आउदैन’ । जुन वेला विपत् आउँछ, त्यो वेला थाहा हुन्छ कि त्यसको पिडा, अनि त्यसबाट परेको भौतिक तथा मानवीय क्षति ।
नेपालीले भूकम्प, आगलागी, बाढी, पहिरो जस्ता प्राकृतिक विपतको भने बेलाबेलमा अनुभव पनि लिँदै आएका छन् । चेतना तथा पूर्वतयारीको अभावमा यस्ता विपतवाट ज्यान गुमाउनेको सङ्ख्या निकै ठुलो छ ।
विश्वकै भूकम्प आउने देशमा नेपाल ११ औँ स्थानमा छ । भौगोलिक विविधता भएको नेपालमा पहिरो तथा बाढीको उच्च जोखिममा रहेको छ । पछिल्लो समय आगलागीका घटना पनि धरै सुन्नमा आउँछन् । बिपत्तलाई रोक्न सकिदैन तर पूर्वतयारीले भने यस्ता बिपत्तीले हुने क्षतिको न्युनिकरण गर्न मद्दत गर्छ ।
यसैबिच सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा विपत् व्यवस्थापनको पूर्व अभ्यास कार्यक्रमको आयोजना गरेको छ । प्राकृतिक विपत् पर्दा कसरी उद्धार गरिन्छ भन्ने विषय विद्यार्थीहरूलाई देखाउन युवा रेडक्रस सर्कल जनता बहुमुखी क्याम्पसले कार्यक्रमको आयोजना गरेको हो ।
नाटकीय रूपमा गरिएको पूर्व अभ्यास कार्यक्रम भूकम्प र आगलागीको अवस्थामा पडितलाई सुरक्षाकर्मीले कसरी उद्धार गर्छन् भन्ने प्रस्तुत गरिएको थियो ।
विपतमा परेका बेला आम सर्वसाधरणहरु डराएर, आत्तिएर धेरै क्षति हुने र समस्या बढ्ने भएको कारण क्यामपसका विद्यार्थीहरूलाई व्यवहारिक रूपमै सुरक्षाकर्मीले कसरी उद्धार गर्छन् भन्ने प्रस्तुति देखाइएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी बलको उद्धार टोलीले आगलागी, भूकम्प, कुनै खोँचमा परेको व्यक्तिलाई कसरी उद्धार गरिन्छ भन्ने विषयलाई उद्धार सामाग्रीको प्रयोगमा प्रस्तुति गरिएको थियो ।
प्रदेश १ लाई सुरक्षित प्रदेश बनाइन्छ : मन्त्री कार्की
प्रदेश नं १ का आन्तरिक मामिला तथा कनुनमन्त्री हिक्मत कार्कीले १ नं प्रदेशलाई अन्य प्रदेशको तुलनामा सुरक्षित प्रदेश बनाउने बताएका छन् । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले भने, ‘प्रदेश सरकार गठन भएको १ वर्ष पुरा भएको छ । विपत व्यवस्थापन सम्बन्धी काम गर्ने मन्त्रालयको जिम्मा पाएको छु र यस्ता खालका पूर्वतयारीको कार्यक्रम गर्न प्रदेश सरकाले सुरु गरी सकेको छ ।’
क्याम्परको सन्दर्भमा स्थापनाको छोटो समयमै रेडक्रसले यस्तो उल्लेखनीय काम गरेको उल्लेख गरेर प्रदेश सरकारलाई पनि घच्घचाएको बताए । ‘मुख्यतयता सडक जोखिमलाई प्रथमिक्तमा राखेर प्रदेश सरकार प्राथमिक चरणमा लागी परेको छ । उनले भने, बिस्तारै अन्य कार्यक्रमको आयोजना गर्दै प्रदेश १ लाई सुरक्षाको प्रदेश बनाइने छ ।’
विपत् परेको बेला आफ्नो सुरक्षा गर्न जान्नु पर्छ भन्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना भएको र पूर्व तयारी गर्न सके धनजनको क्षति कम हुने भएको कारण यस्तो प्रस्तुतिले विद्यार्थीहरूको माध्यमबाट सचेतना गर्न सकिने इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले बताए ।
कार्यक्रममा प्रदेश सांसद लिलम बस्नेत, इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती, जनता बहुमुखी क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, रेडक्रस जिल्ला, तथा विभिन्न शाखाका आमन्त्रित अतिथि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ८६ पिन्ट रगत सङ्कलन
विपत् परेको बेला रगतको आवश्यक्ता पर्ने भएको भन्दै विद्यार्थीहरूले रक्तदान कार्यक्रमको समेत आयोजना गरेका थिए ।
प्राकृतिक बिपद् तथा दुर्घटनामा परेकाहरुकालागी तत्काल चाहिने रगतको आवश्यक्तालाई मध्यनजर गर्दै रेडक्रस सर्कलले विद्यार्थीहरूबाट सङ्कलन गर्ने योजना सहित रक्तदान कार्यक्रमको आयोजना गरेको सर्कलका अध्यक्ष सहदेव काफ्लेले बताए ।
जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरूले प्रत्येक वर्ष गर्ने रक्तदान कार्यक्रमले रगत अभाव हुन बाट सहयोग पुर्ने गरेको र ८६ पिन्ट रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलले जानकारी दिए ।





