
२३ फागुन २०७५, काठमाडौं
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियामा रोजगारी गर्न भाषा परीक्षा उत्तीर्ण गरी पखाईमा बसेका युवाहरुले ३ बर्ष सम्म पनि कारिया जान नपाएपछि आन्दोलन थालेका छन् ।
कोरियाली भाषा परीक्षाको तयारीका लागि ५० हजारदेखि २ लाख रुपैयाँसम्म खर्च गरेका युवाहरुले कहिले श्रममन्त्री गोकर्ण विष्टलाई ज्ञापन पत्र बुझाउँछन् त कहिले सडक आन्दोलन र धर्ना । यिनहरुको एउटै माग छ, पहिला उत्तीर्ण भएकाले कोरियाको रोजगारी पनि पहिला पाउनुपर्छ ।
हुन त भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाउने निश्चित हँुदैन । कोरियाले नै आफूलाई चाहिने कामदार छान्ने हो । यसबारे ईपीएस कोरिया शाखाले परीक्षा फाराम भर्नुअघि नै जानकारी गराउँछ । तर भाषा परीक्षाको तयारीमा ठूलो रकम र समय पनि खर्च भएको र कोरियामा मासिक एक लाख रुपैयाँभन्दा बढी कमाइ हुने अपेक्षाले अघिल्ला वर्षका भाषा परीक्षामा सफल युवाले कोरिया सपना कायमै राखेका हुन् ।
सरकारले बेरोजगार युवाको मर्म अनुसार कोरिया सरकारसँग कूटनीतिक पहल गर्न सकिरहेको छैन ।
१० वर्षदेखि हरेक वर्षजसो हुने भाषा परीक्षामा औसत करिब ७० हजार जना सहभागी हुँदै आएका छन् भने तीमध्ये सात देखि १० हजार उत्तीर्ण हुन्छन् । तर परीक्षा उत्तीर्ण गरेपछि पनि लामो समय रोजगारीको अवसर नपाउनेको संख्या थपिदै गर्दा भोली त्यसले अर्को समस्या नल्याओस् भन्नेतर्फ पनि सरकार सचेत हुनुपर्ने देखिन्छ ।





