विश्वकप एशिया छनौट जुनबाट हुँदै, ४८ राष्ट्रको सहभागिता रहने आकलन !



२३ फाल्गुन २०७५, काठमाडौं

सन् २०२२ को विश्वकप फुटबल छनौटअन्तर्गत एशियन छनौट आगामी जुनदेखि हुने भएको छ ।

फुटबलको सर्वोच्च निकाय फिफाले एशिया महादेशमा हुन लागेको विश्वकप छनौट जुनदेखि प्रारम्भ हुने जनाएको हो । पश्चिमेली देश तथा अमेरिकाले कतार विश्वकपका दौरान गल्फ क्षेत्रमा राजनीतिक तनाव हुन सक्ने दाबी गरेका छन् ।

तर, फिफाले गल्फ क्षेत्रमा हुन सक्ने राजनीतिक तनावले विश्वकप छनौटदेखि प्रतियोगितासम्म केही असर नपर्ने बताईरहेको छ ।

३२ देखि ४८ राष्ट्रको सहभागिता रहने !

प्रतियोगितामा पहिलेको तुलनामा धेरै राष्ट्रहरुको सहभागिता रहने जनाईएको छ ।

३२ देखि ४८ राष्ट्रहरुको सहभागिता रहने छ । यद्यपी सहभागी राष्ट्रहरुको संख्या भने पक्का भएको छैन ।

आयोजकले ८ रंगशाला प्रयोग गर्दै !

आयोजक राष्ट्र कतारले खेलको समयमा ८ रंगशाला प्रयोग गर्ने तयारी गरिरहेको छ ।

तर, सहभागी राष्ट्रहरुको संख्या बढेर ४८ राष्ट्रले नै सहभागिता जनाएको खण्डमा ८ रंगशालाले नभ्याउने हुन्छ ।

‘हामी रंगशाला र अन्य पक्षबारे छलफल गरिरहेका छौँ,’ फिफा अध्यक्ष इन्फान्टिनोले भने ।

खेल अवधि २८ दिन चल्ने !

प्रतियोगिता जम्मा २८ दिन चल्ने बताईएको छ ।

फिफाले सार्वजनिक गरेको तालिकाअनुसार कतार विश्वकप २१ नोभेम्बरदेखि १९ डिसेम्बरसम्म हुनेछ । तसर्थ खेल १ महिना चल्छ । गर्मी मौसममा कतारमा फुटबल खेल्न नसक्ने भएकाले नै फिफा र आयोजक कतारबीचको समझदारीअनुरूप जाडो मौसममा विश्वकप हुन लागेको हो ।

यसपटक फुटबल पारखीले केवल २८ दिनको मात्र मनोरञ्जन लिन सक्छन् ।

पेरिस र मियामीमा बृहत बैठक !

फिफाले कतार विश्वकप तयारी र प्रतियोगिताको खाका सम्बन्धमा अर्को साता मियामी र पेरिसमा बृहत् छलफल गर्ने बताएको छ ।

त्यसपछि ५ जुनमा फिफासँग आबद्ध २ सय ११ फुटबल संघका प्रतिनिधिसँग पनि फिफाले वार्ता गर्नेछ । फिफा कंग्रेसमै कतार विश्वकप कसरी अगाडि बढ्छ भन्ने स्पष्ट हुने इन्फान्टिनोले बताए ।

‘अहिले सबैको चासो भनेको कतारले कसरी विश्वकप आयोजना गर्छ भन्ने हो,’ उनले भने, ‘हामीलाई विश्वास छ, कतार विश्वकप भव्य हुनेछ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्