राष्ट्रिय फुटबल टोलीको नयाँ लोगो, जर्सी र गीत सार्वजनिक !



२२ फाल्गुन २०७५, काठमाडौं

नेपाली राष्ट्रिय टोलीले खेल खेल्दा लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत–सोमबार आफ्नो परिवर्तित नयाँ जर्सी सार्वजनिक गरेको हो ।

राजधानीमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार बिष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, केल्मीको नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदीप न्यौपानेलगायतले सार्वजनिक गरेका हुन् ।

एन्फाका परिवर्तित नयाँ लोगोमा सन्दीप तिवारीको लोगो छनौट !

त्यसैगरि एन्फाले आफ्नो लोगो पनि परिवर्तन गरेको छ ।

पोखराका सन्दीप तिवारीले बनाएको नयाँ लोगोलोगोलाई एन्फाले आधिकारिकता दिएको हो ।

एन्फाले नयाँ लोगो बनाउन आह्वहान गरेपछि प्रपात ५७० लोगोहरुबाट सन्दीपको लोगोलाई छनौट गरेको बताईएको छ ।

तिवारीलाई एन्फाले उनको कलाको उच्च सम्मान गर्दै नगद ५० हजार रुपैंया दिएको छ ।

कस्तो छ ? परिवर्तित लोगो ?

नयाँ लोगोको सबैभन्दा माथि नेपाल लेखिएको छ । त्यसपछि सगरमाथा अनि नेपालको झण्डा राखिएको छ । सबैभन्दा पुछारमा फुटबलको चिन्ह रहेको छ । फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने सात घेरा राखिएको तिवारी बताउँछन् ।

टोलीको होम एण्ड अवे जर्सी सार्वजनिक !

यसैगरी राष्ट्रिय टोलीले लगाउने होम एण्ड अवे जर्सी पनि सार्वजनिक गरिएको छ ।

यसअघि गाढा रातो र गाढा निलो कलरको जर्सी थियो । नयाँ जर्सी पनि यसअघिको जस्तै रातो र निलो कलरमा छ तर पहिले जस्तो भने छैन ।

नयाँ जर्सीको डिजाइन एन्फाले केल्मीसँग मिलेर गरेको हो । केल्मी नेपाली फुटबल टिमको जर्सी निर्माण गर्ने कम्पनी समेत हो ।

एन्फाले केल्मीलाई विभिन्न किसिमको डिजांइन दिएको र त्यसमध्ये उत्कृष्ट छानेर यो जर्सी तयार पारिएको एन्फाले जनाएको छ ।

नेपाली फुटबल टिमको गीत पनि सार्वजनिक

यस्तै एन्फाले नेपाली फुटबल टिमको गीत पनि सार्वजनिक गरेको छ । नेपालको राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाको शब्द रहेको गीतमा चर्चित गायकहरु आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतको स्वर रहेको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङको कोरियोग्राफीमा नेपालका पुरुष र महिला राष्ट्रिय टिमका खेलाडीले नयाँ जर्सी लगायत फोटो सेसन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्