अब : चैत ३ देखि बाग्मतीबाट २२ मेगावाट विजुली



२२ फागुन २०७५, काठमाडौँ

मकवानपुरमा नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपैयाँको लागतमा बनेको हाइड्रोपावरले चैत ३ गतेबाट परीक्षण उत्पादन सुरु गर्ने भएको छ ।
मकवा

नपुरको भिमफेदी गाउँपालिका ८ मा निर्माण भइरहेको बाग्मतीखोला साना जलविद्युत आयोजनाले हाल ‘ड्राइ टेस्ट’ गरिरहेको छ । काठमाडौंबाट बगेर गएको पानीलाई सदुपयोग गर्दै आयोजनाले २२ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो ।

परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यवसायिक रुपमा नै राष्ट्रिय प्रसारणलाइनमा आवद्ध गर्ने गरी हाल प्राविधिक परीक्षणको काम भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिएका छन् ।

माण्डु हाइड्रोले निर्माण गरेको यो आयोजनामा विद्युत् उत्पादनका लागि चाहिने प्रतिसेकेन्ड १२ दश्मलब ४ क्युसेक पानी पठाउने गरी ३ दश्मलब ७ मिटर चौंडा र ३ दश्मलब ८ डायोमिटर रहेको २ हजार ४ सय ४१ मिटर लामो हेडरेष्ट टनेल बनाइएको छ ।

हाइड्रोका लागि आवश्यक ३ सय १३ मिटर लामो ग्रेसहेड टनेलको निर्माणसहित सभिल, पावरहाउस, पेनस्टकको काम नेपाली कम्पनी एसिएन इन्फ्रास्ट्रक्चर प्रालिले १ अर्ब २९ करोड रुपैयाँमा गरेको हो ।

हाइड्रोले सिस्नेरी दोभानमा संकलन गरेको पानी टनेलमार्फत इपापञ्चकन्याको बेसीबगरमा पुर्याउँदै विद्युत उत्पादन गर्नेछ । ०७२ जेठबाट निर्माण गर्न थालेको हाइड्रोले प्राधिकरणको ६६ केभी प्रशारण लाइनमा उत्पादन जोड्नका लागि ४४ वटा टाबर निर्माणको काम सकिएको छ ।

प्राधिकरणको प्रसारण लाइनमा उत्पादन स्थलबाट १४ किलोमिटर टाढा रहेको छ । ‘रन अफ रिभर’ प्रणालीको आयोजनामा ५५ मिटर लामो ड्याम निर्माण गरिएको छ । बागमतीको पानी सिस्नेरी दोभानमा ड्याम बनाई कुलेखानी, बाग्मती र ओगटेको पानी छेकेर सुरुङमार्फत इपाको बगरबेसीमा विद्युत् उत्पादन गरिएको ।

हाइड्रोको इलेक्ट्रो मेकानिकालको काम चाइनिज कम्पनी सीडब्लुटीडव्लुले गरेको हो । कम्पनीमा नेपालीको ५१ र चिनियाँको ४९ प्रतिशत शेयर रहेको छ । यस्तै हालै कास्कीमा बिन्दबासिनी हाइड्रोले निर्माण गरिरहेको रुदी ‘ए’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।

८.८ मेगावाटको यो आयोजनाको विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिइसकेको छ । फागुन १९ बाट परीक्ष्ण उत्पादन सुरु भएको आयोजनाले यसको १५ दिनपछि व्यवसायिक उत्पादन थाल्ने प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्